काठमाडौं । सूचना प्रविधी तथा सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले हचुवाको भरमा आन्दोलन नगर्न कर्मचारीहरुलाई आग्रह गरेका छन् । सरकारले संविधानले गरेको व्यवस्था अनुसार नै कर्मचारी समायोजन गर्न लागेको बताँउदै संविधानको धारा ३ सय २ मा प्रदेश र स्थानीय तहको सेवा गठन र सञ्चालन सम्बन्धी व्यवस्था गरिएको उल्लेख गरे ।
उनले सो धारामा संविधान कार्यान्वयन हुँदाका बखत राष्ट्रसेवक कर्मचारीहरुलाई कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा सेवा प्रवाहका लागि खटाउन सक्नेछ भन्ने व्यवस्थालाई अपव्याखा गरेर आन्दोलन गरेको बताए ।
उनले भने– ‘एउटा कुरा अहिले कानुनसँग जोडेर तर आफूलाई अनुकुल पाएर व्याख्या गर्न थालिएको छ । संविधान जारी भएको बखत भन्ने कुरालाई लिएर त्यसपछि नियुक्त भएका पर्नुहुँदैन भन्ने तर्क देखिन्छ, त्यो सर्वदा गलत छ । त्यतिबेला समायोजन प्रक्रिया त शूरु भएको थिएन । जो आन्दोलन भनिरहनुभएको छ, त्यो अर्थपूर्ण छैन । हामीले कसैलाई काखापाखा गर्नुपर्ने छैन ।’
उनले स्थानीय तहको सरकार सञ्चालन ऐन २०७४ असोजमै आएको बताउँदै त्यहाँ कार्यरत कर्मचारीलाई त्यही काम गर्ने भनिएको तर पद र तह कायम गर्नुपर्ने भएपछि त्यसमा पनि नियुक्ति दिनुपर्ने कुरा आएको स्पष्ट पारे ।
उनले समायोजनमा जाँदा कोही कर्मचारीलाई अप्ठेरो परे प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, कानुन मन्त्रालय र आधिकारिक ट्रेड युनियनका प्रतिनिधीसहितको एउटा गुनासो सुन्ने समितिमा गुनासो राख्न सुझाव दिए ।
मन्त्री बास्कोटाले कर्मचारी समायोजन अध्यादेशको दफा १६ मा समायोजन भएका वा हटाइएका कर्मचारीको सुविधा नेपाल सरकारले ब्यहोर्ने भनेको जानकारी गराउँदै स्थानीय तहका कर्मचारीको सेवासर्त र मापदण्ड ऐन आउन नै बाँकी रहेको बताए ।
उनले भने– ‘त्यसैले अहिले यसो होला, त्यसो होला भनेर चिसो मौसममा आन्दोलन गरेर वातावरण धेरै तताउन आवश्यक छैन । हिटर बालेर वा ग्याँस बालेर तताउनु राम्रो होला, तर शंकाको भरमा आन्दोलन गरेर वातावरण तताउनु वा भ्रम सिर्जना गर्नु वा भ्रममा आफू अगाडि जानु राम्रो नहोला ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१