चितवन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन देशका मध्य तथा पूर्वी भूभागका साथै पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशका पूर्वी तथा पश्चिमी भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावले मेघ गर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ साथै थोरै स्थानमा मेघ गर्जन,चट्याङ सहित हल्का वर्षा भइरहेको समेत मशाखाखाले जनाएको छ । बाँकी स्थानमा भने आंशिक देखि सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फागुन १४ गते बुधबार
दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पश्चिमी भू-भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ । रातीः देशको मध्य भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
फागुन १५ गते बिहिबार
दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फागुन १६ गते शुक्रबार
दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१