ज्ञानु पंगेनी
नवलपुर । नवलपुरको मध्यविन्दु जिल्ला अस्पताललाई कावासोती नगरपालिकाले निःशुल्क डेँगु परीक्षण लागि कीट प्रदान गरेको छ ।
डेँगु परीक्षणका लागि कीटको अभाव भएपछि कावासोती नगरपालिकाले अस्पताललाई एक सय थान डेँगु परीक्षण कीट प्रदान गरेको हो । अस्पतालमा प्रदेशबाट ५०, अस्पतालले खरिद गरेको २५ र जिल्ला स्वास्थ्य कार्यालयबाट ५ कीट प्राप्त भएकोमा शुक्रबारबाट अस्पतालमा कीट सकिएको थियो । कीट सकिएपछि अस्पतालमा डेँगु परीक्षणमा समस्या भएपछि कावासोती नगरपालिकाले शनिबार एक सय थान कीट प्रदान गरेको हो ।
कावासोती नगरपालिका उप–प्रमुख पे्रमशंकर मर्दनिया थारुले अस्पतालका मेडिकल सुपरिटेण्ड डा। टेकेन्द्र गौतमलाई एक सय थान डेंगु परीक्षण कीट प्रदान गरेका हुन् । नगरपालिकाले अस्पतालमा आउने बिरामीलाई सहज रुपमा परीक्षण गर्न सकियोस् भनेर कीट उपलब्ध गराएको कावासोती नगरपालिका उप–प्रमुख पे्रमशंकर मर्दनिया थारुले बताए ।
मध्यविन्दु जिल्ला अस्पतालमा दैनिक ५० जनाको हाराहारीमा ज्वरोका बिरामी आउने गरेका छन् । अस्पतालमा आएका बिरामी मध्ये धेरैले डेँगु परीक्षण गर्न चाहे पनि आफूहरुले अवस्था हेरेरमात्र परीक्षण गर्ने गरेको मेडिकल सुपरिटेण्ड डा। गौतमले बताए ।
नवलपरासी पूर्व नवलपुरमा डेँगुका बिरामी दिन प्रतिदिन बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख ख्याम केसीको भनाई छ ।
प्रमुख केसीका अनुसार सबैभन्दा धेरै डेँगुको संक्रमण गैँडाकोट नगरपालिकामा देखिएको छ । गैँडाकोट नगरपालिकामा मात्र ५२ जना भन्दा धेरैमा डेँगुको संक्रमण देखिएको छ । गैँडाकोट नगरपालिकासंगै देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा डेँगुको प्रभाव धेरै देखिएको प्रमुख केसीले बताए । जिल्लाको पहाडी क्षेत्रका स्थानीय तहहरुमा भने अझैसम्म कसैमा डेँगु संक्रमण नदेखिएको प्रमुख केसीले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१