
पोखरा । बीमा रकम भुक्तानी लिने मनसायले आफ्नो पसलमा आफैं आगो लगाएको अर्को घटना पोखरामा दोहोरिएको छ । गत पुसमा मात्र पोखरा–८ न्युरोडमा खुलेको शर्मा आइटी हबमा १ करोड रुपैयाँको बीमा रकम दाबी गर्न सञ्चालक आफैंले आगो लगाएको खुलेको हो । यही फागुन ११ गते हबमा आगलागी भएको थियो ।
यसका सञ्चालक रमेश शर्माले मोबाइल चार्ज गर्ने क्रममा आगो लागेको भन्दै निवेदन दिएका थिए । नेपाल प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । पसलमा आगो लगाएर क्षतिपूर्ति माग गर्दै बीमा रकम दाबी गर्ने गलत मनसाय राखेको अभियोगमा प्रहरीले सञ्चालक रमेश शर्मा लोहारलाई पक्राउ गरेको छ ।यसअघि गत साउन १६ गते बिहान पोखरा–६ लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा पनि यसरी नै सञ्चालक आफैंले आगो लगाएको घटना सार्वजनिक भएको थियो ।
स्याङ्जाको आँधिखोला वडा नम्बर ४ का सुजन गहतराजले सञ्चालन गरेको सपिङ सेन्टरमा भएको आगलागीबाट डेढ करोड रुपैयाँको क्षति भएको बताइएको थियो । त्यो बेला गहतराजले ‘इन्भर्टर सर्ट’ भएर आगो लागेको बताएपछि प्रहरीले आशंका गर्दै अनुसन्धान थालेको थियो ।
अनुसन्धानपछि पसलमा घाटा खाएपछि बीमाबापतको रकम दाबी गर्ने गलत मनसायले आफैंले आगो लगाएको अभियोगमा गहतराज र उनलाई सघाउने पवन नेपाल पक्राउ परेका थिए । अहिले उनीहरु पुर्पक्षका लागि थुनामा रहेको एसपी श्यामबाबु ओलियाले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१