
सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गरेका छन्। आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै उनले यस्तो दाबी गरेका हुन् । ‘संसदमा पक्ष र विपक्षी बलियो हुनुपर्छ,०८४ पछि एमालेले एक्लै बहुमत ल्याएर सरकार बनाउने छ’, उनले भने, ‘यो हाम्रो दाबी हो ।’ उनले अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने पनि बताए । त्यसपछि दुवै दल आ-आफ्नै तरिकाले चुनाव लड्ने उनको भनाइ छ ।
‘अब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुनुपर्छ। आआफ्नो तरिकाले चुनाव लड्नुपर्छ। समीकरणले सरकार फेरबदल भइरहने परम्पराको अन्त्य हुनुपर्छ’, उनले भने । सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै उनले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गरे । उनले भने– ‘हामीले ल्याएको अध्यादेशले आर्थिक क्षेत्र चलायमान हुन्छ। सबैले अध्यादेशलाई राम्रो मानेका छन् । रोजगारीका अवसर सिर्जना हुने छ ।’
अध्यादेश जसरी पनि पास हुने उनको भनाइ छ । भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उनले जिकिर गरे । सामाजिक सञ्जाल नियमन गर्न पहिलादेखिकै सरकार लागि रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रो चाहना निषेध हैन, नियमन हो । फेसबुक, युट्युबबाट क्राइम भएको छ त्यसलाई नियन्त्रण कसरी गर्ने ? त्यसैले दर्ता गरेर चलाउनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१