नवलपुर। चितवन राष्ट्रिय निकुञ्जले पश्चिम सेक्टर (नवलपुर) बाट थप ४ वटा गैँडा पूर्वी सेक्टर (पूर्वी चितवन) स्थानान्तरण गर्ने भएको छ । गैँडा स्थानान्तरणका लागि टोली अहिले नवलपुरको अमलटारी क्षेत्रमा आइपुगेका छन् । शनिबारबाट स्थानान्तरणको काम सुरु गरिने निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिए ।
गैँडा स्थानान्तरणका लागि टोलीले अहिले अमलटारी क्षेत्रमा गैँडा खोजी गरिरहेका छन् । थापाका अनुसार आनुवांशिक विविधता मिलाउन पश्चिम सेक्टरबाट निकुञ्जको पूर्वी सेक्टर गैँडा स्थानान्तरण गर्न लागिएको हो । पश्चिम सेक्टरबाट प्रजनन् योग्य गैँडा लगेर पूर्वी सेक्टरका गैँडासँग प्रजनन् गराउनका लागि स्थानान्तरण गर्न लागिएको बताउदै अधिकृत थापाले २ वटा भाले र २ वटा पोथी वयश्क गैँडा स्थानान्तरण गर्न लागिएको जानकारी दिए ।
गैँडाको घनत्व र बाढीको जोखिमका हिसाबले निकुञ्जमा पश्चिमभन्दा पूर्वी क्षेत्र बढी सुरक्षित रहेकाले आन्तरिक रूपमा स्थानान्तरणलाई अगाडि बढाईएको थापाले बताए । सन २०२२ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा गठित प्राविधिक कार्यदलले गरेको एक वर्ष लामो सम्भाव्यता अध्ययनले निकुञ्जको पश्चिम सेक्टरबाट १० वटा गैँडालाई स्थानान्तरण गरेर पूर्वी सेक्टरमा लैजान सिफारिस गरेको थियो ।
वन तथा वातावरण मन्त्रालयले उक्त कार्यदलको सिफारिस अनुसार १० वटा गैँडालाई स्थानान्तरण गर्न स्वीकृति दिए पछि २०८० को चैत महिनामा पश्चिम सेक्टरबाट ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गरिएको थियो । पश्चिम सेक्टरबाट गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्दा पश्चिम सेक्टरको नवलपुर र यहाँको मध्यवर्ती क्षेत्रमा हुने गरेको पर्यटकीय गतिविधिमा असर पर्ने भन्दै पर्यटन व्यवसायीले निकुञ्जलाई आग्रह गरे पनि निकुञ्जले स्थानान्तरणलाई अगाडि बढाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१