दयाराम आचार्य , त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–९ का विष्णुबहादुर खड्का अचेल मौरीको चरन व्यवस्थापन गर्न र मह काढ्न व्यस्त हुनुहुन्छ । दुई वर्षअघि दुई घारबाट मौरीपालन सुरु गर्नुभएका उहाँको हाल २८ घार मौरी रहेका छन् । यस वर्ष मात्र खड्काले दुईपटक गरी करिब चार सय केजी मह उत्पादन गर्नुभएको छ । अहिले तोरी फुलेको समय भएकाले चाँडो चाँडो मह तयार हुने उहाँको भनाइ छ । यसबाट खड्काले राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
स्थानीय बजारमा मह प्रतिकिलोग्राम रु सात सयमा बिक्री हुने गरेको छ । थोरै लगानी र थोरै श्रमबाट पनि राम्रो आम्दानी लिन सकिने हुँदा किसानका लागि मौरीपालन व्यवसाय उत्तम भएको उहाँको अनुभव छ । “धेरै लगानी गर्नु पनि नपर्ने, मेहनेत पनि थोरै गरे पुग्ने । आम्दानी राम्रो नै हुने रहेछ”, खड्काले भन्नुभयो, “मौरीपालन स्वास्थ्य र आम्दानी दुवै हिसाबले ठीक छ ।”
देवचुलीकै जसमती रानाले समेत मौरीपालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । उहाँले छ वर्षअघि दुई घारबाट सुरु गर्नुभएकामा हाल आठ घारमा मौरी पालिरहनुभएको छ । आफूले वर्षको तीन सय केजीसम्म मह उत्पादन गरी बिक्री गर्ने गरेको रानाले बताउनुभयो । फुर्सदको समय सदुपयोग होला भनेर थोरै मात्रमा मौरीपालन गरे पनि यसबाट भएको आम्दानीले घर खर्च चलाउन सहज भइरहेको उहाँको भनाइ छ । बिक्रीका लागि बजार सुनिश्चित हुने हो भने थप मौरीको पालन गरी राम्रो आम्दानी लिन सकिने रानाले बताउनुभयो ।
नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेलले हाल सबैजसो किसानले मह काढ्ने काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार चरनको राम्रो व्यवस्थापन गर्नेले कात्तिकदेखि र घरमै घार राख्नेले मङ्सिरको अन्तिम साताबाट मह काढ्न थालेका छन् । घरमै घार राख्नेहरूले सामान्यता एक वर्षमा तीनदेखि चार पटकसम्म र बाहिर लगेर मौरीको चरन व्यवस्थापन गर्नेले वर्षमा ६ देखि ८ पटकसम्म मह निकाल्ने गरेका छन् ।
नवलपुरको देवचुली, कावासोती, गैँडाकोटमा यस्ता किसान क्रमिक रूपमा बढ्दै गएका छन् । पहाडी क्षेत्रका पालिकामा भने व्यावसायिक रूपमा मौरीपालन अघि बढ्न नसकेको महासङ्घ अध्यक्ष कँडेलले बताउनुभयो । व्यावसायिक रूपमा मौरीपालन गर्ने किसानलाई व्यावसायिक किट विकास केन्द्र बन्दीपुरले सहयोग गर्दै आएको छ ।
किसानले मौरीको चरनका लागि पश्चिममा दाङ र पूर्वमा चितवनसम्म मौरी लैजाने गरेको छन् तर यस व्यवसायमा विषादीको प्रयोग चुनौतीका रूपमा रहेको छ । “तोरी भएको स्थानमा चरनका लागि लैजाँदा कतिपयले तोरीमा क्षति पुग्छ भन्ने गलत धारणाले गर्दा विषादीको प्रयोग गर्ने गर्छन्, यसले समस्या उत्पन्न हुने गर्छ”, अध्यक्ष कँडेलले भन्नुभयो ।
तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य समयमा भने चरनका लागि समस्या हुने गरेको मौरीपालक किसानको भनाइ छ । फूल फुल्ने रैथाने बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरो हुँदै गएको उहाँहरूले जनाकारी दिनुभयो ।
नेपाल मौरीपालक महासङ्घका अनुसार नवलपुरमा यस वर्ष करिब ७० टन मह उत्पादन हुने अनुमान रहेको छ । महको प्रकृति हेरी रु सात सयदेखि रु एक हजारसम्ममा बिक्री हुने गरेको छ । उत्पादन भएको मह स्थानीय बजारबाट खपत हुने गरेको र थप बजारको खोजी र व्यवस्थापनका लागि महासङ्घबाट समेत पहल भइरहेको जनाइएको छ ।
महको प्रयोग स्वास्थ्यका लागि लाभप्रद मानिन्छ । पछिल्लो समय मह सेवन स्वास्थ्यका लागि लाभदायक रहेको भन्ने जनमानसमा पर्दै गएकाले महको बजार विस्तार हुँदै गएको महासङ्घका अध्यक्ष कँडेलले बताउनुभयो । मह जम्ने विषय उपभोक्ताको बुझाइमा फरक पर्दासमेत केही समस्या भएको उहाँको भनाइ छ । तोरी, चिउरीको मह जम्ने र जमेको मह शुद्ध हुने जानकारहरू बताउँछन् । रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१