नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा विद्यार्थीहरुले गुन्द्रुक बनाउन सिकेका छन् । विद्यालयका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुले मुला र मुलाको सागलाई ओखलमा थिचेर डब्बामा खाँदेर गुन्द्रुक ( सिन्की ) बनाउने प्रयास गरेको विद्यालयका अतिरिक्त कार्यक्रम संयोजक सुन्दर न्यौपानेले जानकारी दिनुभयो ।
खुसी शुक्रबार कार्यक्रम अन्तर्गत गत पुस ५ गते शुक्रबार विद्यालयको करेसाबारीमा लगाइएको मुला उखेलेर मंगलबार गुन्द्रुक खांदिएको हो । विद्यार्थीहरुलाई वार्षिक शुक्रबारीय कार्यक्रम अन्तर्गत हरेक शुक्स्बार फरक फरक कार्यक्रम संचालन गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम भुसालले जानकारी दिनुभयो । विद्यार्थीहरु खुसी र उत्साहित भएर गुन्द्रुक बनाउने , प्याज रोप्ने , टमाटर रोप्ने जस्ता कार्यमा सहभागी भएको पनि प्रधानाध्यापक भुसालले बताउनुभयो । विद्यालयमा तयार पारी र सुकाएपछि दिवा खाजामा प्रयोग गर्न सकिने पनि उहाँको भनाइ छ ।
कक्षा ८ मा अध्ययनरत छात्र मनिष अधिकारीले खुसी हुँदै अब विद्यालयमा सिके पछि गुन्द्रुक घरमै पनि बनाउन सक्ने बताउनुभयो । उहाँले आँफुलाई मुलाको गुन्द्रुक असाध्यै मन पर्ने पनि बताउनुभयो । मध्यविन्दु नगरपालिकामा हरेक शुक्रबार खुसी शुक्रबार कार्यक्रम नै राखिएको छ । त्यस दिन पुस्तक बिना नै विद्यालयमा कुनै न कुनै सीप सिकिरहेका हुन्छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१