काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङसँग आज नेपालका लागि अमेरिकी राजदूत डिन थम्सनले शिष्टाचार भेट गर्नु भयो । भेटमा राजदूत थम्सनले मन्त्री गुरुङलाई कार्यकालको सफलताको शुभकामना ब्यक्त गर्दै सूचना प्रविधि क्षेत्रको विकास र विस्तारका लागि अमेरिकी सरकार नेपाललाई सहयोग गर्न तयार रहेको बताउनु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मुलुककै महत्त्वपूर्ण मन्त्रालय भएको बताउँदै राजदूत थम्सनले नेपालको संवृद्धिका लागि सूचना प्रविधि क्षेत्रको विकास आवश्यक भएको बताउनु भयो ।
राजदूत थम्सनले प्राकृतिक विपत्तिमा प्रविधिको प्रयोग गरी पूर्व जानकारीका साथै खोज तथा उद्धार गर्न सकिने भन्दै अमेरिका नेपालको साइबर सुरक्षा, पर्यटन सूचनालगायतको क्षेत्रमा सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले सूचना प्रविधिको क्षेत्रलाई नेपालले विकास गर्न सके युवा जनशक्ति विदेश जान रोकिने र नेपालले प्रशस्त विदेशी मुद्रा आर्जन गर्न सक्ने जानकारी गराउनु भयो ।
भेटमा मन्त्री गुरुङले वर्तमान सरकारको लक्ष्य नै शान्ती र संवृद्धि रहेको जानकारी गराउँदै नेपाल सूचना तथा प्रविधिको क्षेत्रमा अमेरिकासँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । प्राकृतिक विपत्तिबाट नेपाल पीडित भएको जानकारी गराउँदै मन्त्री गुरुङले पर्वतारोहणका क्रममा हुने उद्धार तथा खोजमा सञ्चार सम्पर्क आवश्यक रहेको बताउनु भयो ।
नेपालले सञ्चार क्षेत्रमा ठुलो फड्को मारेको बताउँदै मन्त्री गुरुङले यो पर्याप्त नभएको र सञ्चार क्षेत्रलाई आय आर्जन र रोजगारीसँग जोड्नु पर्ने बताउनु भयो । युवा शक्ति पलायन मुलुकको चुनौती भएको बताउँदै सूचना प्रविधिको विकास र विस्तारले युवा शक्तिलाई मुलुकमै रोक्न सकिने बताउँदै त्यसका लागि अमेरिकासँग सहकार्य हुन सक्ने उहाँले बताउनु भयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१