काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१४ डलवा टोलमा को.२८ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिरहुत गाउँपालिका-१ धनपुरी बस्ने १८ वर्षीय तिलक नारायण ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यता नवलपरासी पूर्वको देवचुली नगरपालिका-१४ छत्तिसघरमा बा.६९ प ९२३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक कावासोती नगरपालिका-११ कुडौली बस्ने २५ वर्षीय सागर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिएमसि अस्पताल चितवनमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी महोत्तरीको बर्दिबास नगरपालिका-१ बर्दिबास हमाल टोलस्थित सडकमा प्रदेश २-०४-००१ प ३४४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ बस्ने २८ वर्षीय सन्जोग राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सरकारी अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१