नवलपुर । नवलपुरकाे विभिन्न विकासका एजेण्डा बोकेर जिल्लाको टोली काठमाण्डौं पुगेको छ । नवलपुरको विकास निर्माणका योजना सहितका विषियमा ध्यानाकर्षणका लागि टोली काठमाण्डौं पुगेको हो । जिल्ला समन्वय समिति नवलपुरको संयोजनमा जनप्रतिनिधि सहितको टोली काठमाण्डौं पुगेको जिसस नवलपुर प्रमुख बाबुराम विश्वकर्माले बताउनुभयो । टोलीले बुधबार राष्ट्रपति समक्ष विभिन्न विषयमा ध्यानाकर्षण गराएको छ । साथै योजना आयोगमा ज्ञापन पत्र पेश गरिएको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो ।
नमूना सदरमुकाम निर्माण कार्यका लागि आवश्यक वजेट व्यवस्था, राष्ट्रपति तराई चुरे संरक्षण विकास समिति र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको ऐन नियममा पुनर्विचार, समग्र नवलपुर जिल्लाको विकास गुरुयोजना निर्माण, त्रिवेणी-दुम्किवास सड़क निर्माण, बहुवर्षीय बजेट सुनिश्चितता, कालीगण्डकीको नदीजन्य पदार्थ उत्खनन्को अनुमति, धौवादी फलामखानी उत्खनन कार्य सञ्चालन, लोकाहा औद्योगिक ग्राम स्थापना, कावासोती – पोखरा ग्रामीण सडक निर्माण, वाल्मिकी आश्रमतर्फको बाटोको ट्रयाक प्रक्रिया फुकुवाका साथै नयाँ जिल्लाको परिचय र पहिचान बनिसकेकाले संविधानमै नवलपुरका नाममा जिल्ला सुचिकृत लगायतका विषयलाई समेटेर ज्ञापन पत्र पेश गरिएको जिसस प्रमुख विश्वकर्माले बताउनुभयो
केन्द्र नवलपुरको विषयमा जानकार नभएको हो कि भन्ने भएर आफूँहरुले ध्यानाकर्षण गराउने काम गरेको प्रमुख विश्वकर्माले बताउनुभयो । नयाँ जिल्लाको रुपमा विकास हुँदै गरेको नवलपुरलाई अन्य जिल्ला सरह मात्रै हेर्ने हो भने विकासमा सधैं नवलपुर पछि परिरहने हुँदा केन्द्रले नयाँ जिल्लालाई विशेष रुपमा लगानी गर्नुपर्ने उहाँले बताउनुभयो । यिनै विषयमा ध्यानाकर्षणका लागि टोली काठमाण्डौं आएको उहाँले बताउनुभयो । ‘ हुर्किएको विरुवालाई सामान्य मलजल गरे हुन्छ, धेरै मिहिनेत चाहिँदैन, भरखरको विरुवालाई त धेरैनै रेखदेख गर्नुपर्छ हुर्काउन , नवलपुर भरखर जन्मिएको जिल्ला हो , राज्यले यहाँ विशेष लगानी गर्नुपर्छ, अन्य स्थापित जिल्ला जस्तो गरेर त भएन, यहि बुझाउन हामी आएका हौं’ जिसस प्रमुख विश्वकर्माले भन्नुभयो ।
नवलपुरबाट काठमाण्डौ पुगेको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलदेखि अर्थमन्त्री प्रकाशशरण महत, राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेल, राष्ट्रिय योजना आयोग समेत पुगेर जिल्लाको विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै सम्बोधनका लागि अनुरोध गरेको हो ।
गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्री महेन्द्रध्वज जिसी , प्रदेश सांसदद्वय रोशन वहादुर गाहा, दमयन्ती रुचाल, जिसस प्रमुख बाबुराम विश्वकर्मा, नवलपुरस्थित पालिका प्रमुखहरू कावासोतीका विष्णु प्रसाद भुसाल, मध्यविन्दुका भिमलाल अधिकारी, गैंडाकोटका मदनभक्त अधिकारी, विनयी त्रिवेणीका घनश्याम गिरी, जिसस नवलपुरका उपप्रमुख शकुन्तला लम्साल, नेपाली काँग्रेस महासमिति सदस्य एवं संगठन विभाग नवलपुर प्रमुख कपिलदेव भुसाल,एमालेका युवा नेता मदन गिरी लगायत टोलीमा सहभागि रहेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१