दयाराम आचार्य , त्रिवेणी (नवलपरासी) । गण्डकी प्रदेश सरकारले प्रदेश गौरवको योजनामा राखेको कोरला –त्रिवेणी सडक खण्ड अन्र्तगत पर्ने डेढगाउँ –झ्यालबास खण्डको भौतिक प्रगति तीस प्रतिशत पुगेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँ स्थित कालिगण्डकी छेउ बाट शुरु हुने पहिलो खण्डको प्रगति ३० प्रतिशत पुगेको पूर्वाधार विकास कार्यालय नवलपुरका सडक इन्जिनियर रामकृष्ण घिमिरेले बताउनुभयो । डेढगाउँ– झ्यालबास खण्डमा पहिलो चरणमा हाल १४ दशमलब १ किलोमिटर सडक निर्माण कार्य अघि बढिरहेको छ । विस २०७९ वैशाखमा सम्झौता भएर निर्माण कार्य अघि बढेको यस खण्ड विस २०८१ कात्तिकमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रु. ३२ करोड २० लाखको लागतमा सडक निर्माणको काम लामा गौरीशंकर जेभीले गरिरहेको छ ।
नाला सहित कालोपत्रे गर्ने योजनाका साथ काम चलिरहेको यस खण्डमा हाल सडक चौडा गर्ने काम सकिएको छ । नाला सहित ११ मिटर चौडाइ रहने यस खण्डमा तीन किलोमिटरमा नाला निर्माणको काम सकिएको इन्जिनियर घिमिरेले बताउनुभयो । उहाँका अनुसार नाला निर्माणको कामसँगै ठाउँ ठाउँमा ग्याविन भर्ने, सडक छेउमा पर्खाल निर्माण गर्ने काम जारी रहेको छ । सम्झौताको २१ महिना सकिएको र अब १२ महिना बाँकी रहेको छ । सम्झौताको अवधि भित्रनै काम सक्ने गरि लागिरहेको इन्जिनियर घिमिरेले बताउनुभयो । सडक चौडा पार्ने, ग्याभिन भर्ने , छेउछाउमा पर्खाल लगाउने जस्ता मुख्य काम धेरै जसो सकिएकाले बाँकी रहेको अवधिमा सबै काम सम्पन्न हुने उहाँको भनाई छ । ‘प्रारम्भमा गर्नुपर्ने धेरै मुख्य काम सकिने चरणमा छन्, निर्माणको काम नियमित संचालन भए, सम्झौता अवधिमानै सबै काम सम्पन्न हुन्छ’ इन्जिनियर घिमिरेले भन्नुभयो । नवलपुरको डेढगाउँबाट प्रारम्भ हुने यस सडक रुचाङ –झ्यालबास हुँदै चोरमारा पुगेर पूर्वपश्चिम राजमार्गमा जोडिन्छ ।
यसै खण्डमा दोस्रो चरणमा थप ७ किलोमिटर सडक निर्माणको कार्य समेत अगाडी बढेको इन्जिनियर घिमिरेले बताउनुभयो । ‘पहिलो खण्डको १४ किलोमिटर पछि थप ७ किलोमिटर सडक निर्माण कार्य समेत अगाडि बढेको छ, चाडै सम्झौता भएर अर्को खण्डको समेत काम शुरु हुन्छ’ उहाँले भन्नुभयो । डेढगाउँ देखि झ्यालबास सम्म करिब ४१ किलोमिटर मध्य दोस्रो चरणको काम अघि बढेपछि २० किलोमिटरको काम बाँकी रहने इन्जिनियर घिमिरेले बताउनुभयो । गण्डकी प्रदेश सरकारको प्रदेश गौरवको योजना भएकाले क्रमश सबै खण्डको काम अघि बढ्ने उहाँले बताउनुभयो । झ्यालबासदेखि चोरमारा सम्म ९ किलोमिटर सडक गत वर्ष निर्माण भइसकेको छ । चोरमारा पुगेर पूर्व पश्चिम राजमार्गमा जोडिने यस सडक दुम्किबासबाट त्रिवेणी पुर्याउने प्रदेश सकारको लक्ष्य रहेको छ । तर दुम्किबास –त्रिवेणी खण्डमा भने चितवन राष्ट्रिय निकुञ्जका कारण कुनै पनि काम अघि बढ्न सकेको छैन । यो सडक उत्तर तर्फ जिल्लाको डेढगाउँबाट तनहुँको मानपुर, भिमाद हुँदै खैरेनीटारमा गएर पृथ्वीराजमार्गमा जोडिन्छ । मुस्ताङको कोरलादेखि नवलपुरको त्रिवेणी जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग भएकाले गण्डकी प्रदेश सरकारले यस बाटोलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । यसै बिच नवलपुरमा निर्माण भइरहेको डेढगाउँ –झ्यालबास सडक खण्डको निरीक्षणका लागि बुधबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नवलपुर आउने कार्यक्रम तय भएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१