महेन्द्रनगर। कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ । गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोनाको दोस्रो भेरियन्टसँगै भारतीय पक्षले बन्देज लगाएकाले यहाँ पर्यटकको चलपहलमा कमी आएको बताउनुभयो । सन् २०२३ मा गड्डाचौकी नाकाबाट नौ सय ८३ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यहाँबाट भित्रिनेहरू प्रायः भैरहवाको नाकाबाट भारत जाने गरेका उहाँको भनाइ थियो ।
“यहाँबाट फ्रान्स, नेदरल्याण्ड, अमेरिका, बेलायत र जर्मनलगायत मुलुकका नागरिक नेपाल भ्रमणका लागि बढी भित्रिने गरेका छन् । दोस्रो भेरियन्टपछि पर्यटकको फिर्तीका लागि व्यवस्था मिलाउन माथिल्लो निकायमा पत्राचार गर्नाका साथै स्थानीयस्तरबाट पहल गरिएको थियो”, नासु भट्टले भन्नुभयो, “तर अझै नाका भने सहज गरिएको छैन ।” यहाँबाट नेपाल प्रवेश गर्ने पर्यटक लुम्बिनी, पोखरा र बर्दियालगायत स्थानमा जान बढी रुचाउने गरेको उहाँले जानकारी दिनुभयोे । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलगायत यहाँका पर्यटकीयस्थलका बारेमा नाकामा कुनै खाले प्रचार नै भएन,” नासु भट्टले भन्नुभयो, “केही दिनअघि मात्रै शुक्लाफाँटाको एउटा बोर्ड राखिएको छ ।” त्यसैगरी केही समयअघि गृह जिल्ला कञ्चनपुर पुग्नुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसित पनि पर्यटकका लागि नाका सहज गरिदिनेबारे कञ्चनपुर उद्योग वाणिज्य सङ्घलगायत यहाँका व्यापारी र व्यवसायीले माग गरेका थिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१