काठमाडौं । सुनको भाउ आकाशिएपछि विवाहको सिजनमा एक तोला सुनका गहना बनाउन नै १ लाख २९ हजारसम्म खर्च गर्नुपर्ने भएको छ ।प्रतितोला १ लाख १७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला १ लाख १७ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।सुनका गहनामा सामान्यतया पसलहरुले १० प्रतिशत जर्ती राख्ने गरेका छन् । यस्तो अवस्थामा एक तोला सुनका गहना बनाउन १ लाख २९ हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने भएको हो । सुनका गहनाको प्रकृतिअनुसार जर्ती र ज्यालाको दर पनि फरक हुने गर्छ ।‘गहनाको प्रकारअनुसार सुनको बजार मूल्य, जर्ती र ज्याला गरेर प्रतितोला कम्तीमा पनि एक लाख २४ हजार रुपैयाँ लागत पुग्छ,’ महासंघका अध्यक्ष माणिकरत्न शाक्यले भने, ‘एउटा निम्नमध्यम वर्गको मानिसलाई बिहेमा आधारभूत सुनका गहना जोड्न नै लाखौं लागत लाग्ने भएको छ ।’ सुनका गहनाअनुसार लागत पनि फरक फरक पर्ने भएकाले लागत मूल्य अझै बढ्ने उनले बताए ।
बजार मूल्यमा हरेक दिन नयाँ नयाँ रेकर्ड कायम भइरहँदा सुनको बजारमा भने मन्दी छाएको छ । सामान्य अवस्थामा अघिल्ला वर्षको मंसिरमा दैनिक ३० देखि ४० किलो सुनको खरिद बिक्री हुने गरेकामा अहिले बजारमा सुनको खपत आधाले घटेको व्यवसायीहरुको दाबी छ ।मूल्य उच्च हुँदा दैनिक २० किलो हाराहारी मात्रै सुनको कारोबार भएको महासंघका अध्यक्ष शाक्यले बताए । उनका अनुसार मंगलबारकै मूल्यमा पनि अहिले एक तोला सुनको गहना तयार गर्न कम्तीमा एक लाख २४ हजार रुपैयाँसम्म लागत लाग्ने देखिएको छ ।सामान्यतया निकै कम मात्रामा गहना किन्नेका लागि पनि ५ देखि ७ तोला सुन चाहिने र यसको लगात मंगलबारको मूल्यअनुसार साढे ७ लाख रुपैयाँ भन्दा माथि पुग्ने देखिएको शाक्य बताउँछन् ।सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यकाअनुसार अब सुन बिस्तारै आम मानिसको पहुँच भन्दा माथि पुग्दैछ । महँगीका कारणन बिहेको मौसममा सुनको कारोबार ओरालो लागेको उनले बताए ।
बढ्दो मूल्यका कारण सुन खरिद गर्ने कम तर बिक्री गर्ने बढीरहेका कारण सुन चाँदीको व्यवसायमा संलग्नहरु नै समस्यामा परेको उनले बताए ।अन्तर्राष्ट्रिय बजारको ट्रेण्डका कारण सुनको मूल्य अझै उकासिन सक्ने भएकाले सुनको व्यापारको भविष्यमै प्रश्न उठेको बज्राचार्य बताउँछन् ।अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा बढेको चाप अस्वाभाविक भएका कारण सुनको मूल्य अझै अनिश्चित भएको शाक्य बताउँछन् ।‘हामी अब सुन बजारको व्यवसायप्रति चिन्तित छौं,’ शाक्य भन्छन्, ‘नयाँ बिक्री गर्नका लागि उपभोक्ताको आर्थिक हैसियतले नभ्याउने तर पुरानो सुन बिक्रीका लागि ग्राहकको चाप आयो भने गम्भीर समस्या सुरु हुनसक्छ । ’अहिले बजारमा आएका ग्राहकहरुको मनोविज्ञान हेर्दा अति जरुरी अवस्थामा बाहेक सुन किन्न मानिसहरु तयार नभएको महासंघले जनाएको छ । सरकारले अहिले दैनिक २० किलो सुन आयात गर्न अनुमति दिइरहेको छ ।गत वर्ष नेपालमा ४३ अर्ब ८९ करोड रुपैयाँ बराबरको ३ हजार ५०७ किलो सुन आयात भएको थियो । यस वर्ष कात्तिकसम्म ८ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको एक हजार ८५ किलो सुन नेपाल भित्रिइसकेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१