लुम्बिनी। अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको आव २०७९/८० को बजेटमा निर्माणधीन बुटवल–नारायणगढ सडक स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख गरिएको छ । देशकै गौरवको आयोजनाका रूपमा रहेको सो खण्डअन्तर्गत विभिन्न स्थानमा साना कल्भर्ट निर्माणको काम भइरहेको छ । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त राजमार्ग स्तरोन्नति योजनाको शिलन्यास गर्नुभएको थियो ।
एशियाली विकास बैंकको ऋण सहयोग विस्तार थालिएको सडकको लागत रु १६ अर्ब ९९ करोड ५२ लाख छ । गैँडाकोट–दाउन्ने सडकखण्डको लागत रु ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत रु सात अर्ब ८६ करोड ३४ लाखमा ठेक्का लागेको हो । एडिबीको ८५ प्रतिशत ऋण र बाँकी नेपाल सरकारकै लगानीमा हाल दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्न थालिएको हो ।
सडक स्तरोन्नतिको काममा अहिलेसम्म दाउन्ने र गैँडाकोटमा अधिकांश साना कल्भर्ट निर्माण भइसकेको तथा देवचुलीको रजहर र कावासोतीको खरकट्टा जङ्गल क्षेत्रमा पनि कल्भर्ट निर्माणको काम सकिएको छ । नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेशनले लिएको छ । ११४ किमी सडक खण्डको काम गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल दुई खण्डमा विभाजन गरेर सुरू गरिएको हो ।
गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ र दाउन्ने–बुटवल ४९ किमी सडकलाई खण्ड २ मा छुट््याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ । अहिले दुई लेन रहेको नारायणगढ–बुटवल सडक खण्डलाई चार लेनको बनाउन लागिएको हो । दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’सहितको सडक निर्माण हुनेछ । तीन मिटरकोबीच भागमा बिरुवा लगाइनेछ । हाल रहेको दुई लेनको सडक विस्तारपछि दुईतर्फ सात÷सात मिटरको हुनेछ ।
बजार क्षेत्रमा ६ मिटरको ‘सर्भिस लेन’समेत निर्माण गरिनेछ । बजार क्षेत्रको २८ किमी सडकमा सर्भिस लेन निर्माण हुनेछ । यससँगै आगामी आर्थिक वर्षमा बुटवल–गोरुसिङ्गे सडक खण्डकको स्तरोन्नतिको काम अघि बढाइने बजेट बक्तब्यमा उल्लेख गरिएको छ ।
बुटवलदेखि पश्चिम कपिलबस्तुको गोरुसिङ्गेसम्मको करिब ४५ किलोमिटर सडकको स्तरोन्नतिका लागि परियोजनाको बिस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) काम सम्पन्न भइसकेको छ । यससँगै सरकारले बजेटमा मदन भण्डारी लोकमार्गको निर्माणका लागि लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची र प्यूठानलगायतका जिल्लामा काम अघि बढाउने गरी बजेट विनियोजन गरेको उल्लेख गरिएको छ । यसका साथै पश्चिम नवलपरासी, बर्दिया, कपिलबस्तुलगायतका जिल्ला सदरमुकाम पुग्ने सडकका विस्तार कार्यलाई अघि बढाइने, अमिलिया–तुल्सिपुर सडक विस्तार र घोराही थवाङ सडक स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ । (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१