नवलपुर जिल्ला कृषि, पर्यटन र अर्थतन्त्रको केन्द्र भएको संघिय सांसद : महत
तिर्थराज डुम्रे
चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु–१० अरुणखोलामा आज देखि दोस्रो मध्यविन्दु महोत्सव–२०७८ शुरु भएको छ । मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा शुरु भएको महोत्सवको आज संघिय सांसद तिलक महतले समुद्घाटन गर्नु भएको हो ।
महोत्सवको उद्घाटन गर्दै संघिय सांसद महतले यस क्षेत्रको सामाजिक तथा सांस्कृतिक पहिचान स्थापित गर्न महोत्सव फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । मध्यविन्दु नगरपालिका भित्र बसोबास गर्ने थारु, कुमाल, मगर, गुरुङ्ग सहित विभिन्न जातजातिको पहिचान, कला, संस्कृति र भेषभुषाको यस महोत्सवबाट प्रचारप्रसार र प्रवद्र्धन हुने भन्दै उहाँले यो अवसर सृजना गरेकोमा आयोजकलाई धन्यवाद प्रकट गर्नुभयो ।
नवलपुर जिल्ला कृषि, पर्यटन र अर्थतन्त्रको केन्द्र भएको भन्दै सांसद महतले समृद्ध नवलपुर निर्माणको अभियानले सार्थकता पाउने क्रममा रहेको बताउनुभयो । गण्डकी प्रदेशको कृषि भण्डारको रुपमा रहेको नवलपुर, कास्की पछि सबै भन्दा बढी पर्यटकीय सम्भावना भएको जिल्ला भएको उहाँले बताउनुभयो । तिन तर्फबाट नदीले घेरिएको नवलपुर जिल्ला धार्मिक, सांस्कृतिक र पार्यावरणीय पर्यटनको लागि प्रचुर सम्भावना युक्त जिल्ला भएको महतले बताउनुभयो । यहाँ रहेका धार्मिक स्थल, जातिय तथा भाषिक विभिदता, एतिहासिक महत्वका क्षेत्र, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ति क्षेत्रको कारण सौराह र पोखराको बिकल्पको रुपमा नवलपुर स्थापित हुने चरणमा रहेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका अन्य १० जिल्ला संकलन हुने कुल आन्तरिक राजश्व भन्दा नवलपुर जिल्लामा संकलन हुने राजश्व बढी रहेको भन्दै उहाँले नवलपुर औद्योगिक क्षेत्रको रुपमा रहेको बताउनुभयो । नेपालका ठुला उद्योगहरु नवलपुरमा सञ्चालनमा रहेको र केही खुल्ने क्रममा रहेको भन्दै उहाँले धौवादीको फलाम खानीको उत्खनन् पस्चात जिल्लामा हुने बिकास निर्माण महत्वपूर्ण हुने उहाँले बताउनुभयो । दुम्कीबास त्रिवेणी सडक खण्ड सञ्चालनमा आउदाको अवस्थामा जिल्लामा ठुला उद्योगहरु सञ्चालनको लागि अझ बढी सम्भावना बढ्ने उहाँले बताउनुभयो । कार्यक्रममा बिशिष्ठ अतिथि गण्डकी प्रदेश सभा सदस्य जनकलाल श्रेष्ठले मध्यविन्दु महोत्सवले यहाँको कला, संस्कृति र व्यपारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै धन्यवाद प्रकट गर्नुभयो । उहाँले महोत्सवको माध्यमबाट कोभिड–१९ को कारण प्रभावित बनेको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कला र संस्कृतिको संरक्षण, कृषि पर्यटन उद्योग व्यापार प्रवद्र्धनका लागि मध्यविन्दु महोत्सव भन्ने नारा सहित आज देखि शुरु भएको महोत्सव पुस २८ गते सम्म सञ्चालन हुनेछ । महोत्सवको उद्घाटन समारोहमा बोल्दै मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुलीले यस क्षेत्रको स्थानीय कला र संस्कृतिको संरक्षण सहित कृषि पर्यटन उद्योग र व्यापार पवद्र्धनमा महोत्सव केन्द्रीत हुने बताउनुभयो ।
पछिल्लो बिकास क्रम संगै बाह्य सामाग्रीको उपभोगमा भएको बृद्धिले राष्ट्रको अर्थतन्त्रमा नकरात्मक असर परेको भन्दै स्थानीय उत्पादनको प्रयोग र त्यसको प्रवद्र्धनमा सबै एकजुट हुन आवश्यक रहेको उहाँले बताउनुभयो । महोत्सवको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मी सुनार, पूर्व सांसद चन्द्रमणी खराल सहितको आतिथ्यता रहेको थियो ।
पुस २८ गते सम्म सञ्चालन हुने महोत्सवमा करिव १ लाख २५ हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको संघका कोषाध्यक्ष देवलाल काफ्लेले बताउनुभयो । महोत्सवमा विभिन्न स्टलहरु संगै दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१