२९ कात्तिक, काठमाडौं । खेलाडी जीवनमा धेरै खाले जोखिम हुन्छन् । त्यही जोखिमको चक्रब्युहमा परेर कतिपयले आफ्नो खेल करिअर अन्त्य गर्नुपर्ने बाध्यता पनि आउँछ । यसकै एक प्रतिनिधि पात्र हुन्, मेघराज केसी ।
पहिलोपटक राष्ट्रिय फुटबल टिममा छानिँदा मेघराज मात्र १७ वर्षका थिए । उनको खेल कौशलले सबैलाई प्रभावित बनाएको थियो र सबैले उनलाई फ्यूचर स्टारका रुपमा हेरेका थिए ।
तर, एउटा आकस्मिक घटनाले उनको राष्ट्रिय टिमबाट नमिठो बहिर्गमन भयो ।
त्यसबेला अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापा थिए भने महासचिव थिए लोकबहादुर शाही । दशैं–तिहारको छुट्टीमा महासचिव शाहीले नेपाली टिमलाई भारतमा खेल्ने व्यवस्था मिलाए । मेघराज पनि भारतको गुवाहटी पुगे । तर, प्रतियोगिता सकिएपछि घर फकिँदाको त्रासदीपूर्ण यात्राले उनको खेल जीवनमै पूर्णविराम लगाइदियो । आखिर के भएको थियो त त्यो यात्रामा ?
मेघराज सम्झिन्छन्, ‘भारतमा खेलेर फर्किने क्रममा झण्डै ४८ घण्टा बसमा यात्रा गर्नु पर्यो । त्यो अवधिभर पूरै टिमका सदस्यहरुले मुखमा पानी पनि हाल्न पाएनन् । विर्तामोड आइसकेपछि झगडा पर्यो ।’
त्यतिबेला टिमको नेतृत्व एन्फाका महासचिव शाहीले गरेका थिए भने म्यानेजरमा सन्जिव मिश्र र प्रशिक्षकमा मिलन हाडा थिए ।
झगडा पर्नुको कारण खोल्दै मेघराज भन्छन्, ‘राति झापामा आएर बास बस्यौं । भोलिपल्ट उठिसकेपछि परिस्थिति अर्कै भयो । लोकबहादुर त्यहाँबाट हिँडिसकेछन् । उनी भद्रपुरमा प्लेन चढेर काठमाडौं आउन हिँडेका रहेछन् । मिलन हाडा र सञ्जिव मिश्रलाई केटाहरुलाई गाडीमा लिएर आउनु र हिजो खाएको होटलको पैसा उनीहरुलाई नै तिर्न लगाउनु भनेका रहेछन् ।’
‘राष्ट्रिय टिमबाट खेल्न गएका हामीलाई होटलको पैसा पनि आफैं तिनुपर्ने भएपछि झोक चल्ने भइहाल्यो । त्यही झोकमा मनोज थापा र मैले सन्जिबर मिलनलाई हल्का चार्ज गर्यौं । लोकबहादुरको पनि व्याडलक । प्लेन नपाएर उनी पनि होटलमा फर्किए । त्यसपछि उनले त झन् बढि (धुलाई) भेटे ।’
जसोतसो झगडा साम्य भएपछि सबै गाडीमै काठमाडौंसम्म आए । काठमाडौं आउनासाथ मेघराजमाथि एन्फाको मेघ गर्जियो । त्यसबेला नेपालका मुख्य प्रशिक्षक थिए, विराटकृष्ण श्रेष्ठ । एन्फा अध्यक्ष थापा र महासचिव शाहीले घटनामा दोषी मान्दै उनलाई लिखित माफी माग्न उर्दी जारी गर्यो ।
झोकी मेघराजले के माफी माग्थे ? आफ्नो गल्ती नभएको भन्दै माफी नमाग्ने अडान लिए । अन्तत उनले टिम नै छाड्नुपर्यो । यसरी उनको राष्ट्रिय फुटबल टिमसँग छोटो समयमा ‘पारपाचुके’ भयो ।
भन्छन्, ‘विराटकृष्ण सरले मलाई बोलाएर एन्फासँग तिमीले लिखित रुपमा माफी माग्नु पर्छ भन्नुभयो तर, मैले माफी माग्नुको साटो टिम नै छाडिदिएँ ।’
तर, उनी फुटबलबाट टाढा भएर बस्न भने सकेनन् । त्यसको करिब ५ वर्षसम्म उनले क्लबबाट फुटबल खेले ।
परिवार र पढाइ छाडेर फुटबलमा
फुटबलमय माहोल रहेको जावलाखेलमा मेघराज जन्मिएका हुन् । परिवारका सदस्यहरु भने खेलकुदमैत्री थिएनन् । घरबाट बाहिर निस्किने बित्तिकै फुटबल खेलिरहेको देख्दा मेघराजको खुट्टा सक्सकाउन थालिहाल्थे । ‘म सानो छँदा जावलाखेल चौरमा ठूला दाईहरु एकापट्टि फुटबल र अर्कोपट्टि भलिबल खेल्ने गर्नुहुन्थ्यो । त्यसैले मेरो मन पनि खेलकुदतिर तानियो,’ मेघराज भन्छन् ।
सानो उमेरदेखि नै निकै फुर्तिला मेघराजले अन्डर फोर फिट, अन्डर फाइभ फिटको प्रतियोगिताहरु खेल्न पाए ।
स–साना प्रतियोगिताले नै उनलाई निखार्दै लगे । तर उनको परिवार भने उनी खेलतिर बरालिएको रुचाउँदैनथे । परिवारका कान्छा छोरा भएकाले सबैले पुल्पुल्याएका थिए । घरको काम केही गर्नुपर्थेन ।
तर, फुटबल खेल्न भने सबैको आँखा छल्नुपर्थ्यो । उनी भन्छन्, ‘सबैले पढ् पढ् मात्रै भन्नुहुन्थ्यो । मैले चाहिँ फुटबल र पढाईलाई सँगै लाने सोच राखेको थिएँ ।’
एसएससी दिएर कलेज जान थालेपछि ए डिभिजन लिग सुरु भयो । फुटबलले गर्दा उनको पढाईलाई असर गर्यो । अन्ततः पढाईलाई दोस्रो प्राथमिकतामा राखेर फुटबलमै आफूलाई केन्द्रित गरे ।
यसबाट परिवारसँग उनको द्वन्द्व उत्पन्न भयो ।
मेघराजको परिवारका दुईवटा घर थिए । २०४९ सालतिरको कुरा हो । उनका ३ जना दिदीहरुको बिहे भइसकेको थियो । उनी दाइको परिवार र आमासँग एउटा घरमा बस्थे । परिवारको कचकचले फुटबल खेल्न गाह्रो भएपछि उनी आफ्ना सामान लिएर अर्को घरमा सरे र एक्लै बस्न थाले ।
मेघराज थप्छन्, ‘त्यहाँदेखि अहिलेसम्म छुट्टै बसिरहेको छु । फुटबलकै कारण मैले पढाईलाई तिलाञ्जली दिएँ भने परिवारसँग पनि एक्लिएँ ।’
तर, यसरी अगाडि बढाएको फुटबल करिअर नमिठो तरिकाले अन्त्य भएको थियो । पछि पढाई छोडेकोमा पछुतो हुन थाल्यो । अनि, पढाईलाई फेरि जोडे । प्रशिक्षकको सी देखि ए लाइसेन्स लिए ।
गोलकिपरदेखि फरवार्डसम्म
मेघराजलाई जावलाखेलको मैदानले फुटबल खेल्न सिकाएको हो । उनी त्यही मैदानमा लडिबुडी गर्दै हुर्किए । पछि जावलाखेलको क्लबमा ट्रेनिङ पनि लिए । त्यही क्रममा ललितपुरले क्षेत्रीय खेल खेल्न छनोटको आह्वान गरेको थियो । मेघराज त्यसमा सहभागी मात्र भएनन्, सफलता पनि पाए ।
‘त्यतिबेला २० जनाको स्क्वाडमा १०–११ जना त राष्ट्रिय खेलाडी नै थिए । राजुकाजी शाक्यदेखि लिएर दिपक अमात्यसम्म हुनुहुन्थ्यो’ मेघराजले सुनाए ।
ललितपुर जिल्ला फुटबल टिममा छानिँदै उनले प्रतियोगिताभर खेले । त्यसपछि लिग भयो र उनी जावलाखेल क्लबमै फर्किए ।
मेघराज दुई वटा फरक पोजिसनबाट फुटबल खेल्ने गर्दथे । सुरुवाती समयमा उनले गोलकिपरको भूमिका निभाए । पछि फरवार्डमा जमे ।
गणेश थापालाई संकटमा साथ
मेघराजको राष्ट्रिय टिमबाट बहिर्गमनमा तत्कालिन एन्फा अध्यक्ष गणेश थापाको पनि भूमिका थियो । तर, उनै थापालाई अप्ठ्यारो पर्दा मेघराजले साथ दिए । यो २०५७ सालको कुरा हो ।
त्यतिबेला एन्फा अध्यक्ष थापा र उपाध्यक्ष गीता राणाबीच तीव्र विवाद थियो । राणाको समूहले थापाले स्थापना गरेको एन्फा एकेडेमीको पहिलो ब्याचलाई पनि खारेज गरिदिएको थियो । गृह मन्त्रालयले पनि एकेडेमीका बच्चालाई खेल्न कुनै पनि मैदान नदिनू भनेर उर्दी नै जारी गरिदियो । त्यसपछि थापा संकटमा परेका थिए । उनलाई साथ दिने कोही थिएनन् ।
मेघराजलाई जावलाखेलको मैदानले फुटबल खेल्न सिकाएको हो । उनी त्यही मैदानमा लडिबुडी गर्दै हुर्किए । पछि जावलाखेलको क्लबमा ट्रेनिङ पनि लिए । त्यही क्रममा ललितपुरले क्षेत्रीय खेल खेल्न छनोटको आह्वान गरेको थियो । मेघराज त्यसमा सहभागी मात्र भएनन्, सफलता पनि पाए ।
मेघराज सम्झिन्छन्, ‘आफूसँग कोही मान्छे नभएपछि थापाले मलाई फोन गरेर सहयोग माग्नुभयो ।’
‘आफु त फुटबललाई माया गर्ने मान्छे, को गणेश थापा ? को गीता राणा ? मतलब भएन । एन्फा एकेडेमीको पहिलो ब्याचलाई ट्रेनिङ गराउने प्रस्ताव आएपछि सहर्ष स्वीकारेँ,’ उनी भन्छन् ।
थापाले एन्फाको पहिलो ब्याचका बच्चाहरुलाई लगनखेलको एउटा घर भाडामा लिएर राखेका थिए । मेघराजले होस्टेल इन्चार्ज र फुटबल प्रशिक्षकको दोहोरो भूमिकामा बच्चाहरुलाई हेरे । बिहान ५ बजेदेखि राति १० बजेसम्म उनी बच्चाहरुकै लागि खटिरहेकै हुन्थे ।
अर्को संकटमा पनि थापालाई मेघराजले साथ दिएका छन् । २०६२–०६३ पछि लडाईँ छोडेर माओवादी शान्ति प्रक्रियामा आयो । माओवादी शक्तिमा आएपछि थापा अप्ठ्यारोमा परे । माओवादीले आफ्नै फुटबल टिम बनाउने भनेर लाग्यो र ४५ दिनका लागि एन्फासँग प्रशिक्षक माग्यो । तर, पठाउने कसलाई ?
थापाको आग्रहमा मेघराज यस निम्ति पनि तयार भए । ‘माओवादीको लागि ट्रेनिङ दिन जानुपर्यो । ४५ दिनको मात्र हो । तीन जनाले १५–१५ दिन गरेर ४५ दिन पुर्याइदेउ न भनेर अनुरोध गर्नुभयो,’ उनी भन्छन्, ‘हाम्रो दिमागमा माओवादीको अर्कै छाप थियो । एन्फाका तीन प्रशिक्षक किशोर केसी, डिकेन सुवाल र ममध्ये सबैभन्दा जुनियर म । उहाँहरुले भन्नुभयो, ‘मेघराज भाइ तिमी १५ दिन गएर आउ, त्यसपछि हामी जाउँला । मनमा चिसो पस्यो तर जानु नै थियो, गएँ ।’
शक्तिखोर जान्छु भनेर उनी बाइकमा चितवन घुँइकिए तर, बाटोमा उनको मोबाइल हरायो । अब जाने कहाँ ? अर्को आपत् । उनलाई शक्तिखोरको डिभिजन सेकेन्ड सञ्जिव भन्ने व्यक्तिको नम्बर दिएर थापाले पठाएका थिए । उनी सौराह चोकमा पुगे तर, उनीसँग सञ्जिवको नम्बर भएन ।
गणेश थापाको नम्बर चाहिँ कण्ठै थियो । उनले थापालाई ल्यान्डलाइनबाट फोन गरे । थापाले उताबाट पहल गरेपछि एक व्यक्ति लिन आए ।
मेघराजले शक्तिखोरमा १५ दिन बिताएपछि सहमतिअनुसार घर फर्किने दिन आयो । उनी खुशी थिए । काठमाडौंमा रहेका थापालाई फोन घुमाए तर, फोन लागेन । फेरि थप १५ दिन बसे ।
त्यसपछि थापाको फोन उठ्यो । उनी सिंगापुर गएर आएका रहेछन् । मेघराजले कुरा राख्न नपाउँदै थापाले भनिहाले, ‘३० दिन बसिहाल्यौ, अब १५ दिन पनि बसेर आऊ ।’ मेघराजले काट्न सकेनन् ।
शक्तिखोरको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यतिबेलासम्म दिमागमा माओवादीको डर हटिसकेको थियो । मैले त्यहाँ आफ्नै प्रकारको फुटबल माहोल बनाएको थिएँ । सुरुमा जाँदा हराएको मोबाइल पनि ३५ दिनपछि भेटियो ।’
त्यसबेला माओवादी फुटबल टिमलाई पीएलए स्पोर्टस् भनेर नामकरण पनि मेघराजले नै गरेका थिए । चितवन जिल्ला लिगमा भाग लिँदै पीएलए पहिलो हुन सफल भयो । अनि त मेघराजको तारिफै तारिफ ।
जता पनि सफल
४५ दिनको समयअवधि सिध्याएर उनी काठमाडौं फर्किए । त्यसको १ हप्तापछि राष्ट्रिय प्रतियोगिता हुने भयो । त्यो प्रतियोगितामा माओवादीले भाग लिने भएपछि नेपाली सेनाले के गर्छ भन्ने व्यापक चर्चा भइरहेको थियो । पछि आर्मीले त्यो प्रतियोगिता नै नखेल्ने घोषणा गर्यो ।
माओवादीले खेल्ने भएपछि फेरि टिम हेर्न मेघराजलाई नै फोन आयो । उनले पनि सहजै स्वीकारे । चितवन गएर एक हप्ता अभ्यास गराए र टिम लिएर काठमाडौं आए । प्रतिायोगितामा पीएलए तेस्रो भयो । टिम फर्कियो, उनी घर बसे । तर, त्यसको १० दिन नबित्दै थापाको फोन आयो ।
फेरि पीएलएलाई प्रशिक्षण दिन चितवन जानुपर्ने भयो । यसपाली उनले पीएलएसँग सर्त राखे ।
‘महिनाको २० दिन ट्रेनिङ गराउँछु, १० दिन चाहिँ काठमाडौं आउँछु’ यो शर्त माओवादीले पनि स्वीकारे । त्यसपछि आयो पैसाको कुरा । उनलाई माओवादीबाट सोधियो, ‘पैसा कति दिनुपर्छ गुरु ?’
पहिले ४५ दिन प्रशिक्षण गराउँदा त एन्फाले उसको रेटमा पैसा दिएको थियो । अब माओवादीसँग कति पैसा माग्ने ? उनले कुनै डिमान्ड गर्न सकेनन् । ‘तपाईहरुको इच्छाले जति दिए पनि हुन्छ,’ भनिदिए ।
पीएलएले खर्च पनि राम्रै गरेको थियो । त्यही अनुसारको फुटबल टिम पनि बन्यो । त्यो टिमले मोफसलका धेरै प्रतियोगिताको उपाधि जित्न सफल भयो । मेघराज पनि सन्तुष्ट बने । ‘त्यहाँ गएर मलाई पनि फाइदा भयो । त्यो २ वर्षको अवधि मेरो लागि एक प्रकारको सिकाई जस्तै थियो’ उनी भन्छन् ।
२०६६ सालमा ए डभिजन लिग हुने भएपछि मेघराज चितवनबाट काठमाडौं आए । जावलाखेलको आफ्नै क्लबमा ट्रेनिङ गराउने सोचिरहेका थिए तर, क्लबले प्रशिक्षक राखिसकेको रहेछ ।
उनी क्लबविहीन भए । बेकारमा पीएलए छोडेर आएको जस्तो भयो । तर, लिग सुरु भएको करिब एक महिनापछि मछिन्द्र क्लब हेर्ने मौका पाए । त्यो अहवसर तत्कालिन प्रशिक्षक ध्रुव केसीले मिलाइदिएका थिए ।
‘पारिवारिक समस्याले ध्रुव केसीलाई बीचैबाट क्लब छोड्नुपर्ने भएछ । त्यसपछि मेरो जिम्मामा आयो । लिगको अन्तिम ७ वटा म्याच बाँकी थियो । मेरै प्रशिक्षणमा मछिन्द्रले ६ वटा खेल जित्यो,’ उनी गर्वका साथ सुनाउँछन् ।
त्यसबेला मछिन्द्र तेस्रो स्थानमा उक्लिएको थियो । तर सातौं खेलमा भने नमिठो घटना भयो, जसले गर्दा उनले चटक्कै क्लब छाडेर हिँडे ।
उक्त खेलमा मछिन्द्र र एपीएफ भिड्दै थिए । विभागीय टिम एपीएफ रेलिगेसनमा पर्ने निश्चित जस्तै थियो । रेलिगेसनबाट जोगिन एपीएफले मछिन्द्रलाई ७ गोल हान्नु पर्ने थियो ।
असामान्य रुपमा एपीएफले सातै गोल हान्यो ।
मेघराज भन्छन्, ‘मैदानमा मछिन्द्रको कोही अफिसियल पनि आएनन्, खेलाडीले पनि मन लगाएर खेलेनन् । खेलको ५ मिनेटभित्रै मछिन्द्रले २ गोल खायो । यस्तो भएपछि मैले सेटिङ सबै बुझिहालेँ ।’
त्यसपछि मछिन्द्रको म्यानेजमेन्टलाई धन्यवाद दिँदै उनले ‘अब आइन्दा मलाई कोचका लागि नबोलाउनु होला’ भन्दै हिँडे ।
त्यसपछि थ्रीस्टारबाट अफर आयो । त्यसबेलाको लिग च्याम्यिन थ्रीस्टारले बोलाउँदा सुरुमा त उनलाई विश्वास नै लागेको थिएन । थ्रीस्टारका अध्यक्ष ललितकृष्ण श्रेष्ठलाई ‘जोक नगर्नु है’ भनेर जवाफ फर्काएका थिए । ‘उहाँले सिधैं थ्रीस्टार हेर्ने हो त ? भन्नुभयो । मलाई त जिस्केको जस्तो लाग्यो । लिग च्याम्पियन क्लबले एक्कासी प्रस्ताव गर्दा कसरी पत्याउनु ?’ मेघराज भन्छन् ।
तर, यो कुनै ठट्टा थिएन । उनी तीन दिनपछि थ्रीस्टार गए । उनले सोचेजस्तो अवस्थामा थ्रीस्टार थिएन । क्लब नामी थियो, टिम गतिलो थिएन । तत्कालिन प्रशिक्षक बालगोपाल महर्जनले थ्रीस्टारमा भएको राष्ट्रिय टिमका खेलाडी जति सबै लिएर मनाङ मस्र्याङ्दी गएका थिए । बाँकी खेलाडी पनि उपेन्द्रमान सिंहले हिमालयन शेर्पामा लगेका थिए । तर, मेघराजले हरेस खाएनन् ।
नयाँ जोस निकाल्न लागि परे । उनी भन्छन् ‘संकटको अवस्थामा मलाई बोलाइएको रहेछ । त्यसपछि म टिम बनाउनेतर्फ लागेँ । राजकुमार घिसिङ, प्रदीप महर्जन, विष्णु सुनार जस्ता खेलाडी बोलाएर टिम बनाए ।’
केही दिनको अभ्यासपछि मेघराज टिम लिएर भारतको गुवाहटी प्रस्थान गरे । गुवाहाटीमा थ्रीस्टारले एक गोल पनि नगरी फाइनलसम्मको यात्रा गर्यो । समूह चरणको खेलमा ३ वटामध्ये सबैमा गोलरहित बराबरी खेल्दै सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनलमा पनि गोलरहित खेल्दै पेनाल्टीबाट जित निकाल्यो । तर फाइनलमा बंगलादेशी टिमसँग ३–० ले पराजित भयो ।
मेघराजले २०६६ को अन्तिमदेखि २०६९ सालसम्म करिब २ वर्ष थ्रीस्टारको प्रशिक्षक भएर काम गरे । यो अवधिमा थ्रीस्टारले थुप्रै प्रतियोगिताको उपाधि उचाल्यो । उनी भन्छन्, ‘त्यतिबेला मेरो पालामा मनाङ र थ्रीस्टारको ९ वटा जति खेल भयो । कुनै खेलमा थ्रीस्टार पराजित भएन ।’
थ्रीस्टारले मनाङलाई पराजित गर्ने सिलसिला ब्रिटिस गोर्खा कपको फाइनलदेखि सुरु भएको थियो । लगत्तै पोखरामा आहा रारा गोल्डकप भयो । सेमिफाइनलमा हिमालयन शेर्पालाई पराजित गर्दै थ्रस्टारले फाइनल यात्रा तय गरेको थियो । फाइनलमा मनाङलाई माथ खुवाउँदै उपाधि उचाल्यो । थ्रीस्टारका खेलाडी लिएर टिम बनाएका प्रशिक्षक बालगोपाललाई मनाङले बर्खास्त नै गरेको थियो ।
दुई वर्ष थ्रीस्टारमा बिताएर उनी हिमालयन शेर्पा गए । त्यहाँ पनि फिक्सिङ काण्ड भएपछि फ्रेन्ड्स क्लब पुगे ।
घुम्दै फिर्दै थ्रीस्टारमै
फ्रेन्ड्स क्लब छोडेपछि मेघराज विभागीय टिम नेपाल आर्मीमा आवद्ध भए । आर्मीमा पनि उनले उपाधिको रेकर्ड राखे । त्यो २ वर्षे अवधिमा थ्रीस्टार र मनाङले आर्मीलाई कुनै खेलमा पनि पराजित गर्न सकेन ।
‘आर्मीले उपाधि जित्न नसकेको लामो समय भइसकेको रहेछ । म आबद्ध भएपछि पहिलो प्रतियोगितामै उपाधि जित्न सफल भयौं । करिब २ वर्षसम्म आयोजना भएका फुटबल प्रतियोगिताको उपाधि ७० प्रतिशत आर्मीले जितेको थियो’ मेघराज भन्छन् ।
उनले जति क्लब चहारे सबैमा सफल भए । उनमा पनि आत्मविश्वास बढ्यो । आर्मीपछि उनी अहिले दोस्रो पटक थ्रीस्टार क्लब सम्हाल्न आइपुगेका छन् । त्यो बेला थ्रीस्टार एएफसी कपको छनोटका लागि तयारी गर्दै थियो ।
उनले थीस्टारलाई एएफसी कपमा पुर्याए, जुन उनको लागि मात्रै नभएर देशकै लागि गौरवको कुरा थियो । ‘हामी मंगोलियामा एएफसी कप छनोट खेल्न गयौं । दोस्रो चरणमा पुगेका थियौं तर, एन्फाको लापारबाहीको कारण हामीले दोस्रो चरण खेल्ने अवसर गुमायौं,’ उनी भन्छन् ।
दोस्रो पटक क्लबको जिम्मा लिएपछि पनि मेघराजले थीस्टारलाई थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि दिलाउन सफल भएका छन् । भारतको बोर्डोलोई ट्रफीदेखि मोफसलमा भएको ७० प्रतिशत प्रतियोगिताको उपाधि थ्रीस्टारले जित्न सफल भएको थियो ।
अहिलेसम्म उनी थ्रीस्टारमै छन् । यसपाली उनको लक्ष्य भनेको थ्रीस्टारलाई लिग च्याम्पियन बनाउनु हो । त्यसै अनुसार मेहनत गर्दैछन् । उनी भन्छन्, ‘मलाई अन्य क्लबबाट पनि बोलाइएको थियो तर, गइनँ ।’
५० पुगेपछि सन्यास
मेघराज अहिले ४५ वर्षका भए । अब पाँच वर्षपछि प्रशिक्षकबाट सन्न्यास लिने उनको योजना छ । तर, पनि फुटबलबाट भने टाढा हुने छैनन् । ‘म आफ्नो जिन्दगी आफ्नै स्टाइलमा विताउने छु तर, फुटबलमै हुनेछु । खेलाडी र प्रशिक्षकपछि फुटबलको अर्को बाटो पनि छ ।’
उनी नेपालमा राम्रो र स्तरीय खालको एकेडेमी खोल्ने तयारीमा छन् । त्यसका लागि तयारीमा जुटिसकेका छन् । ‘आफू ५० वर्ष पूरा भएपछि एउटा राम्रो एकेडेमी सञ्चालन गर्ने मेरो लक्ष्य छ’ उनले भने ।
उनले आफ्नो योजना यसरी सुनाए, ‘मैले एकेडेमी चलाएको करिब १० वर्षपछि १०० जना खेलाडी उत्पादन हुनेछन् । त्यसमा ५–६ जना राष्ट्रिय टिममा पर्न सफल हुनेछन् । ५०–६० जनाले ए डिभिजन खेल्नेछन् । उनीहरुले गर्वका साथ भन्नेछन् कि यो एकेडेमीको प्रोडक्ट हुँ ।’
हेटौंडामा ४० रोपनी जग्गा खोजेर एकेडेमी खोल्ने उनको योजना छ । ‘अहिले नेपालमा जेजति फुटबल एकेडेमी छन्, कुनै पनि गतिला छैनन् । कसैले पैसा कमाउन चलाई रहेका छन्, कसैले देखाउन’ मेघराजले कुरा टुंग्याउँदै भने, तर, कसैले पनि राम्रा प्रोडक्ट निकाल्न सकेका छैनन्
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१