तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।
सवारी दुर्घटनामा छजना घाइते
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडाैंबाट पोखरातर्फ आउँदै गरेको ना५ख ४३७४ नम्बरको बस अनियन्त्रित हुुँदा सडकको बायाँतर्फ नालीमा दुर्घटना भएको थियो ।दुर्घटनामा कास्कीको पोखरा महानगरपालिका–१३ बस्ने ३० वर्षीया सुनिता गुरुङ, पाँच वर्षीय रेशम सुनुवार, पोखरा महानगरपालिका–३२ बस्ने २५ वर्षीया सङ्गीता तिवारी, २८ वर्षीय सन्दीप तिवारी, धादिङको ज्वालामुखी गाउँपालिका–७ बस्ने ३८ वर्षीय टेकनाथ कँडेल र १० वर्षीया सुरक्षा कँडेल घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१