दाङ । बर्दियाबाट काठमाडौं जाँदै गरेको रात्री बस दाङमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दाङको लमही नगरपालिका-९ स्थित रिहार प्रहरी चौकीबाट ४ किलोमिटर पश्चिमको जंगल क्षेत्रमा प्रदेश ३–०१–००५ ख ९७१९ नम्बरको रात्री बस आइतबार राति ११ बजे दुर्घटना भएको दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए।
दुर्घटनमा परी बर्दियाको गेरुवा गाउँपालिकाका–१ का ३६ बर्षीय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको घटनास्थलमै मृत्यु भएको डिएसपी मल्लले बताए। डिएसपी मल्लका अनुसार सडकको भित्तामा बस ठोक्किदा दुई जनाको च्यापिए घटनास्थलमै मृत्यु भएको हो। ‘बस जंगल क्षेत्रको सडकको भित्तामा ठोक्किन थालेपछि दुई जनाले ज्यान जोगाउन हाम फाल्न खोज्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको जस्तो देखिएको छ,’डिएसपी मल्लले भने। चालक निदाएका कारण बस दुर्घटना भएको प्रहरीको अनुमान छ।
दुर्घटनामा चालक मात्रै घाइते छन्। बसमा सवार अन्य यात्रु निदाएको तथा सबै सकुशल रहेको प्रहरीले बताएको छ। मृतक दुबै जनाको पोष्टमर्टमका लागि दाङको लमही अस्पतालमा राखिएको छ। घटना बारे अनुसन्धान भइ रहेको प्रहरीले बताएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१