सन्जय भट्टराई, कावासोती । नवलपुरमा विगत केही दिन देखि बाघको आंतक फैलिएको छ । गत पौष ८ गते विनयीत्रिवेणी गाउपालिकमा वडा नं. १ को खहरे जंगलमा घाँस काटन गएका एकै घरका सासू बुहारी मनादेवी पौडेल र विष्णु पौडेलको बाघको आक्रमणमा परेर ज्यान गएको हप्ता दिन नबित्दै मंगलबार हुप्सेकोट-४ शंखदेवको समिडाँडा जंगलमा बाख्रा चराउने क्रममा बाघले आक्रमण गर्दा स्थानीय हरि भुसालको ४ वटा बाख्राको मृत्यु भएको छ ।
विनयीत्रिवेणीको घटनाको सुरुमा जंगली जनावारको आक्रमणबाट भएको प्रहरीले बताएको थियो । पोस्टमार्टम रिपोर्टका अनुसार उक्त घटना बाघको आक्रमणबाट भएको देखिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदबहादुर पौडेलले बताए ।
बाघको आक्रमण बढदै जाँदा पूर्व पश्चिम राजमार्ग भएर दुई पांग्रे साधनमा यात्रा गर्ने यात्रु, सामुदायिक वनका वन हेरालु, सालको पात टिपेर गुजारा गर्ने तथा नजिकैको वनमा गाईबस्तु चराउन जाने आम सर्वसाधारणमा भने त्रासको अवस्था सृजना भएको छ ।
लगातार रुपमा बाघको आक्रमण बढिरहँदा विनयीत्रिवेणीमा आक्रमण गर्ने बाघ र शंखदेवमा बाख्रा मार्ने एउटै हो या फरक फरक हो भन्ने निष्कर्षमा पुग्न नसकिएको डिभिजन वन कार्यालय नवलपुरका निमित्त प्रमुख सुर्यसिंह गुरुङले बताए । “हामीले चितवन राष्ट्रिय निकुञ्जको सहकार्यमा ट्यापिङ्ग क्यामेरा राखेर बाघको अनुसन्धान सुरु गरेका छौँ, बाघ क्यामेरामा परेको छैन, क्यामेरा बाहेक केही पर पाईला स्पट भएका छ्न”, गुरुङले भने, “आज बाख्रा खाने बाघ र विनयीत्रिवेणीको मान्छे मार्ने बाघ एउटै हो या होइन निधो छैन ।”
बाघ क्यामेरामा नदेखिए पछि क्यामेराको ठाउँ परिवर्तन गरे पनि क्यामेरामा नदेखिएकाले कस्तो प्रकृतिको बाघ हो भन्ने पहिचान भै नसकेको गुरुङले बताए । बाघ देखिएपछी एक्लाएक्लै वनप्रवेश नगर्न, प्रवेश गर्नै परे समूह बनाएर प्रवेश गर्न र रातिको समयमा यात्रा गर्दा सचेत हुन गुरुङले आग्रह गरे ।
आफ्नो नियन्त्रण क्षेत्र बाहिर बाघले घटना घटाएको भए पनि बाघको अवस्था पत्ता लगाउन निकुञ्जले डिभिजन वनको आग्रहमा क्यामेरा जडानको काममा सहयोग गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए । “बाघ एकै दिनमा ८ किलोमीटर बढी हिडने गर्छ, यताको बाघ उता जान्छ, उताको यता आउला वन्यजन्तु जोगाउने सबैको कर्तव्य हो, मानवीय क्षती हुन नदिएर बाघ लगाएतका वन्यजन्तु जोगाउन हामी प्रतिबद्ध छौँ”, तिवारीले भने ।
विगत ३ वर्ष देखि विनयीत्रिवेणी क्षेत्रमा बाघले मानवीय क्षती गराउदै आएको तर बाघ नियन्त्रणमा डिभिजन वन र निकुञ्जले खासै चासो नदिएको विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी बताउछ्न । गत पौष ८ गते बाघको आक्रमणमा सासू बुहारीको ज्यान गए पछि निकुञ्ज र डिभिजन वनका अधिकारी बोलाएर छलफल गरेको बताएका गिरीले बाघ लखेटन जनता जाग्न पर्ने अवस्था आए त्यो गम्भीर हुने बताए ।
“मैले निकुञ्जका सहायक वार्डेन, डिभिजन वनका कर्मचारी सहित छलफलमा भनेको छु, तपाईंहरुको बाघ नियन्त्रण गर्नुस सक्नु हुन्न भने जनताले गर्छ्न, त्यसपछिको असहज परिस्थितिको जिम्मेवारी निकुञ्ज र डिभिजन वनले लिनु पर्छ”, गिरीले भने ।
बाघले आक्रमण गरेर पशुधन र मानवीय क्षती पुर्याए पछि आफुहरुले आक्रोसित स्थानीयलाई तत्काल सम्झाई बुझाई गरेको भए पनि पटक पटक बाघको आंतकले जनता चुप लागेर बस्ने अवस्थामा नरहेको र त्यसपछि आउने परिस्थितिको जिम्मेवार निकुञ्ज र डिभिजन वनले लिनुपर्ने उनको भनाई थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१