दुम्किबास । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले दुम्किबास क्षेत्रमा खानेपानीको उचित व्यवस्थापनका लागि एकीकृत रुपमा खानेपानीको योजना अघि बढाउन आवश्यक रहेको बताउनु भएको छ । शनिबार दुम्किबास खानेपानीको १७ औँ साधारणसभा , १० औँ अधिवेशन तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले खानेपानी जस्तो संवेदनशिल क्षेत्रलाई सबैको पहुँचमा पुर्याउन, गुणस्तरीय बनाउन अब छुट्टा छुट्टै रुपमा नभएर एकीकृत रुपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो । सानो सानो रुपमा समूहगत रुपमा अघि बढ्दा ठूला योजना र कार्यक्रम गर्न असहज हुने हुँदा एकीकृत रुपमा सबै एक भएर योजना अघि बढाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
दुम्किबास खानेपानी –१, जोगीकुटी, दुन्चे खोला, दुम्किबास खानेपानी १र २ ज्यामिरे गरि सञ्चालित तीन वटा खानेपानीलाई मर्ज गरि एकीकृत रुपमा अघि बढ्न सके थप व्यवस्थित रुपमा योजनाहरू सञ्चालन गर्न सहज हुने अध्यक्ष गिरीले बताउनुभयो । उहाँले दुन्चे खोलाको पानीलाई फिल्टर गर्न अति आवश्यक रहेको साथै थप बोरिङहरु निर्माण गर्नुपर्ने आवश्यकता देखिएकाले सोही अनुसार योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । दुन्चे खोलाको पानीमा चुनको मात्रा धेरै भएकाले पाइप जाम भइरहने समस्या रहेको साथै धेरै चुन भएको पानी खान समेत उपभोक्ता बाध्य भएकोले यसको गुणस्तर वृद्धिका लागि लाग्न समेत आवश्यक रहेको उहाँले बताउनुभयो ।
गाउँपालिकाले गुणस्तरीय खानेपानी आम नागरिकलाई पुर्याउन आवश्यक पहल गर्ने समेत उहाँले बताउनुभयो । वडा नम्बर १ को समता भवनमा खानेपानीका अध्यक्ष दिलिप रेग्मीको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि घनश्याम गिरीले नवनिर्मित भवनको उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका वडा नम्बर १ का वडा अध्यक्ष दीपक पौडेल सहित विभिन्न व्यक्तिहरूको सहभागिता रहेको गाउँपालिका अध्यक्षका स्वकीय सचिव संगम गिरीले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१