सर्वसाधारण आवेदकले सेयरमा जसरी नै अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्ने बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।
म्युचुअल फण्डमा लगानी गर्दा के छ फाइदा ?
छरिएर रहेको पुँजीलाई एकत्रित गर्ने र विभिन्न इक्वीटी, ऋणपत्र लगायत क्षेत्रमा लगानी गर्ने योजनाका साथ संकलन गरिने रकमका लागि प्रदान गरिने साना इकाइ नै म्युचुअल फण्ड हो ।म्युचुअल फण्डले रकम संकलन गरी इक्वीटी, ऋणपत्र वा अन्य कोषमा लगानी गरी त्यसबाट प्राप्त प्रतिफलबाट आफ्नो खर्च कटाएर इकाइधनीलाई नगद लाभांश दिन्छन् । धेरै फण्डले वार्षिकरुपमै लगानीकर्तालाई नगद लाभांश दिँदै आएका छन् ।फण्डका योजना व्यवस्थापकले सबैभन्दा धेरै रकम इक्वीटीमा लगानी गर्ने गरेका छन् । प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइ अर्थात् १ हजार रुपैयाँ यस्ता फण्डमा लगानी गर्न सकिन्छ ।
योजना व्यवस्थापकले नै फण्डको व्यवस्थापन गर्ने भएकाले लगानीकर्तालाई विज्ञता वा समय खर्चिनुपर्ने हुँदैन । म्युचुअल फण्डको अधिकांश रकम सेयरमै लगानी हुने भएकाले सेयर बजार बढ्दा लगानी भएको १० रुपैयाँको खुद सम्पत्ति मूल्य पनि बढ्न जान्छ ।यस्ता फण्डको रकम परिचालनका लागि विज्ञहरु नै परिचालन हुने भएकाले फण्डको लगानी सेयरमाभन्दा कम जोखिम मानिन्छ । थोरै रकम पनि धेरै कम्पनीको सेयरमा लगानी हुने भएकाले जोखिम विविधिकरण हुन जान्छ ।
म्यचुअल फण्डको पनि सेयरजस्तै स्टक मार्केटमा किनबेच गर्न सकिन्छ । अहिले दोस्रो बजारमा कतिपय म्युचुअल फण्ड १० रुपैयाँभन्दा सस्तो मूल्यमा पनि झरेका छन् । तसर्थ हालको अवस्थामा प्राथमिक बजारमा १० रुपैयाँका दरले लगानी गर्नुभन्दा दोस्रो बजारमा सोभन्दा तलको मूल्यमा खरिद गर्नु फाइदामूलक पनि हुन सक्छ ।