
कैलालीका अमर राना दशैंका बेला सातजना साथीहरुसँग मिलेर दार्जुला र बैतडीबाट खसी–बोका तथा भेडा–च्याङ्ग्रा ल्याएर धनगढीलगायतका बजारमा बिक्री वितरण गर्थे । यसपटक पहिलेभन्दा थोरै खसीबोका ल्याएको तर त्यो पनि सबै बिक्री नभएर आफ्नो समूह यसपालि ठूलो घाटामा गएको राना बताउँछन् । गत वर्ष २५ सयको संख्यामा खसी–बोका, च्याङ्ग्रा र भेडा बिक्री गरेकामा यो वर्ष ६ सय गोटा पनि मुस्किलले बिक्री गरेको राना बताउँछन् ।


खसीको मासु बिक्रीमा परिचित नयाँ बानेश्वरको आइकालु मिट सपमा पनि यस पटक ग्राहकले मासु बाहेकका अन्य उत्पादनको किनमेल नगरेको लेखा प्रमुख गोपाल पाण्डे बताउँछन् । ‘पहिले पहिले मासु किन्न आउँदा ससेज लगायतका अतिरिक्त मासुजन्य वस्तु खरिद गर्थे,’ पाण्डे भन्छन्, ‘यस पटक मासु राम्रो बिक्री भयो तर उपभोक्ताले अन्य उत्पादन खरिद गरेनन् ।’ फ्रोजन मासु तथा मासुजन्य अन्य सामग्रीको बिक्री घटेको उनले सुनाए ।काठमाडौंमा मात्रै दशैंमा ६० हजार खसी–बोका बिक्री हुने गरेकोमा यस वर्ष करिब आधा मात्रै खपत भएको अनुमान रहेको नेपाल राष्ट्रिय मासु व्यवसायी संघ अध्यक्ष रमेश खड्गी बताउँछन्
सरकारकै खसी पनि बिकेनन्
दशैंमा उपभोक्तालाई सहुलियत दिन भन्दै सरकारी स्वमित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष २२ सय १३ वटा खसी–बोका र च्याङ्ग्रा खरिद गरेको थियो । तर, दशैंमा ती सबै खसी–बोका, च्याङ्ग्रा बिक्री भएनन् । कम्पनीका अनुसार बागमती प्रदेश कार्यालय थापाथलीमा २७० गोटा च्याङ्ग्रा र ३० खसी बिक्री नभएर बसेका छन् । खसी–बोका र च्याङ्ग्राको मूल्य ३ पटक मूल्य घटाउँदा पनि बिक्री नभएको कम्पनीले जनाएको छ ।कुल १६ सय ५९ वटा खसी–बोका र ५५४ गोटा च्याङ्ग्रा खरिद गरेकामा ३ सय गोटा नबिकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले बताइन् । बजार मूल्यमा प्रतिस्पर्धी नभएर हो कि भनेर मूल्य घटाइए पनि अझै बिक्री नभएको कम्पनीले जनाएको छ ।
कम्पनीले पहिलोपटक जिउँदो खसी–बोकाको प्रतिकिलो मूल्य ६८० र च्याङ्ग्राको १२६० रुपैयाँ तोकेको थियो । तर, त्यतिमा बिक्न गाह्रो भएपछि दुवैमा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको न्यौपानेले बताइन । यस्तै, दोस्रोपटक खसी–बोकाको ६६० र च्याङ्ग्राको १२३५ र तेस्रो पटक घटाएर खसी–बोकाको ६०० र च्याङ्ग्राको ११६० रुपैयाँ प्रतिकिलो कायम गरिएको कम्पनीले जनाएको छ । तर, यति मूल्यमा पनि पूरै खसीबोका बिक्री नभएको उनले बताइन् ।
दशैंमा देशभर यस्तै भयो संघ
संघका अनुसार यो वर्षको दशैंमा देशैभर मासुको बिक्रीमा ह्रास आएको छ । उपभोक्ताले खुलेर चाडपर्वमा खर्च गर्न नसकेका कारण गाउँबाट ल्याएको खसी–बोका गाउमै फर्काउनु पर्ने अवस्था आएको संघका अध्यक्ष रमेश खड्गीले बताए । काठमाडौंमा मात्रै ६० हजार खसी–बोका दशैंमा बिक्री हुनेमा यस वर्ष करिब आधा मात्रै खपत भएको अनुमान रहेको अध्यक्ष खड्गी बताउँछन् ।‘मासु खाने मानिसहरु विदेश गए । भएकासँग पैसा भएन,’ अध्यक्ष खड्गी भन्छन्, ‘यो वर्ष हामीले नसोचेको अवस्था मासु व्यापारमा आएको छ । खसी फिर्ता लगेको तपाईले देख्न पाउनुहुन्छ ।’यो साल सबै प्रकारका मासुको बिक्री घटेको संघका उपाध्यक्ष उमेश खड्गीले बताए । मानिसहरुलाई आर्थिक रुपमा समस्या भएका कारण खर्च गर्नमा हच्केको हुन सक्ने उनको अनुमान छ । काठमाडौंमा करिब ३ वर्षदेखि खसीको मासुको मूल्य १३ सय रुपैयाँ हाराहारी रहेको संघको भनाई छ । मूल्य नबढे पनि बजारमा ठूलो मात्रामा खपतमा ह्रास आउनुको कारणबारे विस्तृत तथ्यांक संकलनकै क्रममा रहेको संघको भनाइ छ ।खसी, बोका र च्याङ्ग्रा सहित कुखुराको मासु समेत बिक्री बजारको आकार भन्दा आधाले घटेको संघको दाबी छ । तर, सरकारसँग यसबारे यथेष्ट तथ्यांक नभएका कारण यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
सरकारले २०७६ सालदेखि भारत लगायतका मुलुकबाट खसी बोका आयातमा प्रतिबन्ध लगाएको छ । गत महिना सार्वजनिक भएको राष्ट्रिय कृषि गणनाको तथ्यांकअनुसार नेपालमा पछिल्लो एक दशकमा खसी र बोकाको संख्यामा डेढ गुणाले वृद्धि भएको छ । २०६८ सालमा एक करोड ९ लाख ९० हजारको संख्यामा रहेको खसी बोकाको संख्या २०७८ मा आइपुग्दा एक करोड ४२ लाख ४२ हजार पुगेको छ ।