
आयातमा वृद्धि भए पनि निर्यात भने घटेको छ । निर्यात गत वर्षको तुलनामा २.१६ प्रतिशतले घटेर चालु आर्थिक वर्षको असोजसम्म ४० अर्ब ८७ करोड ४८ लाख ९१ हजार रुपैयाँमा झरेको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो ।आयातमा वृद्धिसँगै कुल वैदेशिक व्यापार र व्यापार घाटा पनि बढेको छ । कुल वैदेशिक व्यापार १.३१ प्रतिशतले वृद्धि हुँदा ४ खर्ब ४८ अर्ब ४३ करोड ३८ लाख ६६ हजार पुगेको छ । यस्तै निर्यातमा संकुचन हुँदा व्यापार घाटा २.१५ प्रतिशतले बढेर ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख ८४ हजार पुगेको भन्सार विभागले जनाएको छ ।असोजसम्म करिब ३० अर्बको डिजेल आयात हुँदा १७ अर्बको पेट्रोल र ११ अर्बभन्दा बढीको एलपी ग्याँस आयात भएको छ ।

यस्तै ७ अर्ब ३५ करोडको सुन आयात भएको भन्सार विभगले जनाएको छ । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा १० किलोबाट बढाएर २० किलो पुर्याएको छ । साउन र भदौमा जम्मा ४ अर्ब १२ करोड रहेको सुन आयात कोटा बढाएसँगै असोजमा बढेको छ ।
१ खर्ब नाघ्यो भन्सार राजस्व
आयातमा केही सुधारसँगै पहिलो त्रैमासमा भन्सार राजस्व १ खर्ब नाघेको छ । असाजसम्म कुल १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख ६ हजार भन्सार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा ९६ अर्ब ६१ करोड रहेको भन्सार राजस्व चालु आर्थिक वर्षमा उल्लेख्य रुपमा वृद्धि देखिएको हो ।