
१. परिचय : पर्यटकीय क्षेत्र भन्नाले त्यस्ता धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा जैविक विविधताले भरिपूर्ण क्षेत्र जहाँ बर्षेनी हजारौं पर्यटक विभिन्न प्रयोजनको लागि आउने, बस्ने, मनोरञ्जन गर्ने, घुमफिर गर्ने तथा अध्ययन अनुसन्धान गर्ने गरी आफ्नो समयको उपयोग गर्ने ठाँउ भन्ने बुझिन्छ । नेपालका प्रायःजसो सबै हिमाली चुचुराको क्षेत्र, ताल तथा सिमसार क्षेत्र, निकुञ्ज तथा आरक्षहरु, कास्कीको पोखरा, तनहुँको बन्दिपुर, मुस्ताङ, लुम्बिनी, पाल्पा लगायत सयौं ठाँउहरु पर्यटकीय क्षेत्रको रुपमा चीरपरिचित छन् । पर्यटकीय क्षेत्रको बारेमा बुझ्नु अगाडि पर्यटक भनेका को हुन् भनेर बुझ्नु जरुरी हुन्छ । विदाको समयको उपयोग गर्न, कुनै ठाँउको प्राकृतिक, सांस्कृतिक र जैविक विविधता को अध्ययन गर्न, हेर्न, मनोरन्जन लिन, अत्याधिक जाडो वा गर्मी छल्न, साथीभाई तथा इष्टमित्र भेट्न, साहसिक खेल खेल्न, आफ्नो वाणिज्य व्यापारको विस्तार गर्न, जागिरको सिलसिलामा वा कार्यालयीय कार्यको सिलसिलामा एक ठाँउबाट अर्को ठाँउमा आउने जाने मानिसलाई पर्यटक भनिन्छ । सामान्यतया कुनै ठाँउमा न्युनतम चौबिस घण्टा देखि अधिकतम एकवर्षको अवधि व्यतित गर्नजाने व्यक्ति वा समूहलाई पर्यटक भनिन्छ । पर्यटकलाई विभिन्न सेवा सुविधा उत्पादन गरी उपलब्ध गराउने कार्यलाई पर्यटन उद्योग वा पर्यटन व्यवसाय भन्ने गरिन्छ । पर्यटक भन्दा वित्तिकै हामी गोरो छाला भएका सेता विदेशी हुन् भन्ने ठान्छौं । अंग्रेजी बोल्नु, उनीहरु संग समय विताउनु बडो रोमान्चक कार्य ठान्छौं । तर हामी संग रूप, रंग, धर्म संस्कृति आदि मेल खाने भारतीय वा अन्य दक्षिण एसियाली देशका नागरिक तथा नेपालकै एक ठाउँबाट अर्को ठाउँमा घुम्न आउने आन्तरिक नागरिक पनि पर्यटक नै हुन् । त्यसकारण पर्यटनमा आन्तरिक र बाह्य पर्यटक भनेर नामाकरण गरिन्छ।
२. कावासोतीको भौगोलिक परिचय
कावासोती नेपालको गण्डकी प्रदेश अन्तर्गत नवलपरासी जिल्ला वर्दघाट सुस्ता पूर्वको भित्री मधेसको एक सुन्दर नगरी हो। अक्षांशको हिसावले २६ डिग्री ५१ मिनेटदेखि २७ डिग्री २ मिनेट उत्तर तथा देशान्तरको हिसावले ८४ डिग्री ५१ मिनेट देखि ८५ डिग्री १६ मिनेट पूर्वी देशान्तरमा अवस्थित यो नगर धार्मिक, सांस्कृतिक, प्राकृतिक र जैविक विविधताले भरिपूर्ण जिल्ला सदरमुकाम पनि हो । यस नगरपालिकाको पूर्वमा देवचुली नगरपालिका, उत्तरमा हुप्सेकोट गाँउपालिका, पश्चिममा मध्यविन्दु नगरपालिका तथा दक्षिणमा नारायणी नदी र चितवन राष्ट्रिय निकुन्ज रहेका छन् । यसको उत्तरमा वालुवा डाँडा र कुमसोत, पूर्वमा लोकाहा खोला, पश्चिममा चालिस किलो वन तथा दक्षिणमा नारायणी नदीले प्राकृतिक साँधको काम गरेका छन् । मुख्यतया यहाँ ब्राम्हण, क्षेत्री, मगर, थारु, गुरुङ्ग, माझि, बोटे, तामाङ, लगायतका जातजाति तथा दलित समुदायको समेत बसोबास रहेको छ । २०७१ साल वैशाख २५ गते कावासोती नगरपालिका घोषणा भई २०७३ सालमा साविकका शिवमन्दिर, कावासोती, पिठौली, अग्यौली र कुमारवर्ती गाविस समेत गाभिएर यो नगरपालिका बनेको हो। ११४ वर्ग कि.मी. क्षेत्र भित्र फैलिएको यो नगरपालिका नवलपुर उपत्याकाको सुन्दर नगरी पनि हो।
३. पर्यटकीय क्षेत्रको रुपमा कावासोतीमा पर्यटकीय विकासको संभावना
पर्यटकीय क्षेत्रको रुपमा हेर्दा कावासोती नगरपालिका भित्रका महाराजा मन्दिर, पोखरी ताल, टरुवा ताल, बाघखोर होमस्टे, मध्यवर्ती क्षेत्र, गिद्ध संरक्षण केन्द्र (जटायु रेष्टुरेन्ट) नर्मदेश्वर मन्दिर, पिठौली धाम, राधाकृष्ण मन्दिर, बालुवा डाँडा, कुमसोत डाँडा, नारायणी किनार, चिलाहा, बौद्ध गुम्बा, स्तुप तथा नेवा गुठी नगर भित्रका विशिष्ट पर्यटकीय क्षेत्रहरु हुन्। यस नगरका महाराज थान, नर्मदेश्वर शिवालय, पिठौली धाम, राधाकृष्ण मन्दिर, बौद्ध स्तुप, गुठी लगायतका क्षेत्रले धार्मिक पर्यटनको विकास गर्ने संभावना वोकेका छन् । यसैगरी बाघखोर, चिलाहा होमस्टे, थारु संग्राहालय डण्डा आदि क्षेत्रले थारु संस्कृतिको उत्थान र प्रर्वद्धन गर्दै सांस्कृतिक पर्यटनको विस्तारको ढोका उघारेर बसेका छन् । अर्कोतिर गुरुङ्ग, मगर, बोटे, मुसहर, तामाङ् आदिका सांस्कृतिक विविधताले पनि पर्यटकको मन तान्न सफल हुने संभावना बोकेका छन् । थारु, मगर र गुरुङ्गका लोकनृत्यले दालभातमा तिख्खर अचारको स्वाद दिनेमा मा कसैको दुईमत छैन। पूर्वपश्चिम राजमार्गले पेटबाट चिरेको हुनाले पूर्वपश्चिम नेपालका काठमाडौ, पोखरा जस्ता ठूला शहर जोड्ने यो एउटा व्यापारिक र औद्योगिक केन्द्र बन्न सक्ने समेत संभावना बोकेको छ। कुमसोत, बालुवा डाँडाले उत्तरतिर पाल्पा र कालीगण्डकीको मैदान तथा दक्षिणतिर कावासोती, नारायणी र चितवन राष्ट्रिय निकुञ्जको भु भागको प्रत्यक्ष अवलोकन सँगै बालुवाडाँडा बाट साहसिक खेल प्याराग्लाइडिङ गर्न सकिने कुरासमेत परिक्षणबाट पुष्टि भईसकेको अवस्था छ । उतातिर चितवन राष्ट्रिय निकुञ्ज र नारायणीको तिरमा जंगल सफारी, डुंगा सयर, बन्यजन्तुमा हात्ती,, गैंडा, पशुपंछीको अवलोकन र बोटविरुवाको अध्ययन तथा अनुसन्धानको लागि महत्वपूर्ण क्षेत्र बन्दै आइरहेका छन् । जटायु रेष्टुरेन्ट (गिद्ध संरक्षण केन्द्र) ले यस क्षेत्रमा लोप हुँदै गएको गिद्वलाई संरक्षण गर्ने विश्वको अनुपम परियोजनाको रुपमा कावासोती र नवलपुरलाई विश्वसामु चिनाएको छ। चितवनको मुटु नारायणगढ़वाट मात्र २५/३० किमी पश्चिममा पर्ने कावासोती चितवनको मेघौली पछिको हात्तीपोलो खेल खेल्ने अन्तरराष्ट्रिय स्पर्धा हुने दोश्रो स्थान समेत कावासोतीको अमलटारी क्षेत्र विश्वसामु परिचित छ। सुन्तला, कागती, कुरिलो खेती आदिको पकेट क्षेत्र बनेको यो नगरीले बिभिन्न ठूला साना स्तरीय होटल, रेष्टुरेन्ट र घरबास पर्यटन सेवामार्फत हजारों पर्यटकको मन जित्दै आएको छ ।हिन्दू, बौद्ध, मुस्लिम र इसाई धर्म सम्प्रदायहरुको वसोवास रहेको कावासोती नगरमा बुद्ध पूर्णिमा, दशैं, तिहार, छठ, जितिया, इद, बकर इद, माघी, फागु, रामनवमी, बालाचर्तुदशीजस्ता चाडपर्वहरू मनाइने हुँदा पर्यटकीय मौसमलाई लक्षित गरि सडक महोत्सव, खाना महोत्सव, सांस्कृतिक झाँकीहरू प्रदर्शनी तथा लोकसंस्कृति प्रदर्शनी, अन्तर साँस्कृतिक प्रदर्शनी तथा अन्तरक्रिया आयोजना गर्न सकिन्छ । पर्यटनको विकास गर्दै जाँदा, बाटोघाटो, खानेपानी, विद्युत, संचार आदिको विकास हुने हुँदा बजार तथा ग्रामिण पर्यटनको विकास र विस्तार गर्न सकिने अर्को महत्वपूर्ण पाटो छँदैछ । संघियताले स्थानीय क्षेत्रलाई स्वायतता दिंदैगर्दा स्थानीय उत्पादनहरु जस्तै केराको रेशाबाट बनाइने झोला, लुगा तथा खुट्टामा लगाइने पहिरन आदिको बजारीकरण गरेर आर्थिक सम्वृद्धि हासिल गर्न सकिने प्रशस्तै संभावनाहरु रहेका छन् । नेपाली नागरिकमा बढ्दो आर्थिक सुधारको अवस्था, क्रय क्षमताको विस्तार, घुमफिर गर्ने र विदा मनाउने चाहनामा वृद्धि तथा भारत र चीनबाट समेत पर्यटक भित्र्याई दिगो विकासमा अगाडि बढ्न सक्ने संभावना छन् । गैर आवासीय नेपालीलाई समेत यस क्षेत्रमा नयाँ लगानी तथा पर्यटन प्रवर्द्धनका कार्यक्रमहरु अगाडि बढाई आकर्षित गर्न सकिने संभावना रहेको छ । धार्मिक, सांस्कृतिक सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्न सके पर्यटन विस्तारमा दिगो टेवा पुग्न सक्ने कुरालाई नकार्न सकिदैन ।
४. नयाँ पर्यटकीय क्षेत्रको पहिचान
कावासोती नगरपालिकामा धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, जैविक विविधता तथा पर्यापर्यटन, व्यावसासिक तथा व्यापारिक पर्यटन, आन्तरिक तथा वाहय पर्यटन, साहसिक पर्यटन, अध्ययन तथा अनुसन्धानात्मक पर्यटन, खेलपर्यटन जस्ता कुराहरु पूर्व परिचित पर्यटकीय पहिचान बनिसकेका छन् । यसको अलावा औषधि विज्ञान, वनविज्ञान, संस्कृति र वातावरणको अध्ययन अनुसन्धान, जैविक विविधताको संरक्षण, होटल व्यवस्थापन, जलक्रिडा तथा स्पा जस्ता नयाँ क्षेत्रको पहिचान र विकास गर्दै यस क्षेत्रमा भएका क्याम्पसहरुले अन्तरराष्ट्रिय क्षेत्रका विद्यार्थीहरुलाई अध्ययन तथा सेवा प्रवेशपूर्व तालिमको लागि यहाँ बोलाउन सक्ने हो भने पर्यटन विकासको नयाँ क्षेत्रको विकास गर्न सकिन्छ। यसको अलावा सामुदायिक वनहरूमा फिल्म सुटिङ्गको लागि स्टुडियोको सुविधा सहितका सेवाहरुको विस्तार गर्न सकेमा आन्तरिक पर्यटन विकासको अर्को ठूलो संभावना रहेको छ। कावासोतीमा उच्च स्तरको फिल्म हल भएमा विदेशी फिल्मको समेत प्रदर्शन गर्ने व्यवस्था गरेमा यहाँ आएका पर्यटकको बसाई लामो हुनेथियो । नगरपालिकाले स्थानीय पर्यटन व्यवसायीहरुसँग समन्वय गरी एक हप्ता, दुई हप्ता गरी प्याकेजमा पर्यटक घुमाउने योजनाको विकास गरेमा पर्यटन विकासको अर्को आयाम थपिन सक्थ्यो। काठमाडौं, पोखरा वा चितवन तथा लुम्बिनी देखि पूर्व र पश्चिम वा अन्य क्षेत्रमा जाँदा आँउदा कावासोतीमा बस्ने गरी पर्यटकीय हबको रुपमा समेत यसलाई विस्तार गर्न सकिन्छ । गर्मीमा तराई भन्दा शीतल जाडोमा हुस्सू कम लाग्ने हुँदा यो क्षेत्र मौसमी तथा सदावहार पर्यटकको लागि उपयुक्त स्थान हुनेमा दुईमत छैन । यदि नारायणी नदीमा व्यवसायिक ढुङ्गा सयर तथा खेल, नारायणीमा सिग्नेचर पुल तथा पूर्वपश्चिम रेलमार्ग र यसको प्लेट फर्म बनेमा पनि आन्तरिक र बाह्य पर्यटनको विकास गर्न सकिन्छ । नवलपुरका आठ वटै स्थानीय तहको सामूहिक प्रयासमा एउटा छुट्टै विशेष पर्यटकीय कार्यक्रम बनाई दिर्घकालीन विकासको बाटोमा अगाडि बढ्न सकिन्छ । कावासोतीबाट कालीगण्डकी करिडोर तथा कावासोती भिमाद, पोखरा सडकको स्तरोन्नति गरेर पोखरासंग जोड्न सके पर्यटन विकासको अर्को खुट्किलो पार गर्न सकिन्छ । सामुदायिक वनहरुमा वन्यजन्तुका संरक्षण, आवास अनि प्रजननको व्यवस्था गर्न गराउन सकेमा राष्ट्रिय निकुञ्जले दिन नसकेको सेवा प्रवाह गर्न सकिने अथाह संभावना रहेको छ ।
५. पर्यटन विकासका चुनौतिहरुः
कावासोती नगरी नेपालको मध्य भागको एउटा महत्वपूर्ण क्षेत्र भएपनि बत्तिमुनिको अँध्यारो जस्तै भएको छ। बढ्दो वैदेशिक रोजगारी तथा वैदेशिक अध्ययनको लागि युवा र विद्यार्थीहरु देश छोडेर पलायन हुनुका कारण यहाँ दक्ष जनशक्तिको अभाव टड्कारो समस्या बन्न पुगेको छ। स्तरीय होटल, रेष्टुरेन्ट स्पा, जलक्रिडा स्थलको अभाव, राम्रो स्वास्थ्य सेवा प्रदायक संस्था को अभाव अर्को समस्या बनेको छ । राम्रो मनोरञ्जन केन्द्र, अध्ययन केन्द्र, व्यापारिक मल तथा संगठित पर्यटक सूचना केन्द्रको अभाव अर्को समस्या हो । यसको अलावा पूर्व पश्चिम राजमार्गको विस्तारमा ढिलासुस्ती, धुवाँ धुलो, अन्य भित्री सडकमा मर्मत संभारको काम समयमै नहुनु जस्ता समस्या अर्को समस्याको रुपमा तेर्सिन्छन् । पर्यटन व्यवसायी संगठित हुन नसक्नु, स्तरीय सामानको उत्पादन र व्यवस्थापन गर्न नसक्नु, व्यवसायीका विचमा अस्वस्थ प्रतिस्पर्धा, स्थानीय सरकारको स्पष्ट पर्यटन नितिको अभाव, आर्थिक अभाव, दिर्धकालिन योजना र रणनितिको अभाव, पर्यटक लक्षित कार्यक्रमको अभावका कारणहरु पनि थप चुनौति बन्न पुगेका छन्। बाह्य पर्यटकलाई लक्षित गरेर कार्यक्रम बनाइने, मध्यम आय भएका सार्क देशका र नेपाली आन्तरिक पर्यटकलाई उपेक्षा गरिनु पनि पर्यटन विकासमा चुनौति हुन् । स्थानीय र आन्तरिक पर्यटनको प्रर्बद्धन गर्न सकेमा पर्यटकको आवागमनमा निरन्तरता भई रहने र आर्थिक गतिविधीमा स्वचालन र निरन्तरता आउन सक्ने संभावना पनि देखिन्छ । नेपालको असुरक्षित सडक यातायात, हवाई यातायात, कमसल खालको सेवा प्रवाह, चोरी, ठगी, सम्पदामाथिको अतिक्रमण, कमजोर पुर्वाधार, अनियमित बन्द, हड्ताल र चक्काजाम, प्रविधिको कमजोर प्रयोग, कमजोर परिचालन र व्यवस्थापन, असुरक्षा, तथा पर्यटकिय शिक्षाको चेतनाको विकास नभई सकेको अवस्था, पर्यटन विकासमा सामुदायिक सहभागिताको जस्ता कारणले पनि विश्व वजारमा नेपाल र नेपालीलाई हेर्ने नजर खस्केको हुँदा कावासोती नगरपालिकाले यी विविध क्षेत्रका समस्या लाई निराकारण गर्दै आफ्नो नगरभित्रका मौलिक संस्कृति, परम्परा र सम्पदाहरुको संरक्षण, संर्बद्धनका कार्यक्रमहरुको अभिवृद्धि गर्नुपर्ने र पुराना तिता अनुभवबाट पाठ सिक्नु पर्ने अवस्था आएको छ । यी यस्ता विषयको विकास र विस्तारमा दिर्घकालीन नितिको व्यवस्था गर्न र सेवा प्रवाहमा गुणस्तरीयता अभिवृद्धिलाई भाषण र नारामा मात्र सिमीत नगराई स्पष्ट कार्ययोजना निमार्ण, त्यसको सहि कार्यन्वयन, अनुगमन र पृष्ठपोषण जस्ता क्रियाकलापलाई नियमित गर्दै संस्थागत तथा संरचनागत विकास गर्न जरुरी छ ।
६. चुनौतिको समाधान तथा विकासः
कावासोतीको पर्यटन सेवाको विकासको लागि चुनौति निमिट्यान्न पार्न सकेमा यो क्षेत्रको विकास गर्न सकिन्छ। यसको लागि नगरपालिकाले आफ्ना निति तथा कार्यक्रममा बजेटको विनियोजन गरी सरोकारवालाहरुको सहभागितामा समस्याको प्राथमिकीकरण गरिकन योजनावद्ध विकासका निति तथा कार्यक्रम बनाई रणनितिको अवलम्वन गरी दिर्घकालिन विकासको यात्रा तय गर्नुपर्दछ । शहरलाई हरित नगरको रुपमा विकास गर्ने, ढल नल तथा फोहरको वैज्ञानिक व्यवस्थापनमा जोड दिने, संचार, यातायात, विद्युत आपूर्ति नियमित गर्ने तर्फ ध्यान दिनुपर्छ । स्थानीय रेडियो, टेलीभिजन, पत्रपत्रिका तथा अनलाइन मार्फत लेखरचना, वृत्तचित्र, भिडियो आदि निमार्ण गर्न लगाई त्यसलाई इन्टरनेट मार्फत प्रकाशन र प्रशारण गर्न जरुरी छ । यस नगरभित्रका क्याम्पसवाट दक्ष जनशक्तिको उत्पादन गर्न गराउन सकेमा दक्ष जनशक्तिको अभाव पूर्ति गर्न सकिन्छ। स्तरीय होटल, रेष्टुरेन्ट, चमेना गृह, एक गाँउ एक घरबास कार्यक्रमको विकास गरी स्थानीय लोक गीत, लोकनृत्य, लोकवाजा, लोकसंस्कृतिको प्रचारप्रसार गर्न जरूरी छ। स्तरीय ट्राभल मेडिसिन क्लिनिक, स्तरीय चलचित्र घर, स्तरीय प्याकेज ट्राभलको व्यवस्था तथा संगठित पर्यटन व्यावसायको विकास गर्नुपर्ने आवश्यक छ । मुख्य सडक तथा नगर मित्रका सहायक सडकहरुको विकास र विस्तार गर्न जरूरी छ । बाह्य तथा आन्तरिक पर्यटकलाई कमसेकम एकहप्ता बस्न सक्ने गरी नयाँ र आकर्षक कार्यक्रमहरुको निर्माण तथा कार्यन्वयन को खाँचों देखिएको छ। नगर क्षेत्रको चक्रपथको निमार्ण र स्थानीय ठूला तथा साना सवारी साधनको रुटको व्यवस्थापन, बसपार्क निमार्ण, आन्तरिक तथा वाहय सवारी साधनको टिकट काउन्टर र टर्मिनलको निमार्ण समेत आवश्यक छ । बैंकिङ्ग, मुद्रा सटही काउन्टर, पर्यटन सेवा तथा सूचना केन्द्रको स्थापना र सेवा प्रवाह समेत गर्न जरुरी देखिन्छ । विभिन्न विज्ञहरुको समुहबाट अध्ययन अनुसन्धान गराई नयाँ चुनौति, संभावनाको क्षेत्र, विकासका अग्रगामी लक्ष्यहरु तय गर्न जरुरी छ । स्थानीय क्षेत्रमित्र शान्ति स्थापना गर्न नेपाल प्रहरी, नगर प्रहरी तथा ट्राफिक प्रहरीको नियमित गस्ती, लागु पदार्थ ओसारपसार, वन्यजन्तुको अंगको तस्करी, वालवालिका र महिलाको ओसार पसार तथा वेचविखन र अन्य देह व्यापार, यौनजन्य तथा अपराधजन्य गतिविधि न्यूनीकरणमा जोड दिइनु पर्छ । सडकका हरेक बिजुलीका पोलमा सौर्य बत्ती, सिसी टिभी क्यामेरा जडान गरि नियमित रुपमा अनुगमन र निगरानी गर्ने कार्यलाई जोड दिनुपर्छ। स्थानीय नागरिकलाई आय तथा सिपमूलक तालिम दिई स्वरोजगार गराई प्राकृतिक श्रोतमाथिको निर्भरता र गरिबी घटाउन कार्ययोजना बनाई लागु गर्नुपर्छ।
स्थानीय तहले मात्रै एक्लै गर्छु भनेर सबै कार्यलाई पूर्णता दिन नसकिने हुँदा संघीय सरकार र प्रदेश सरकारले पनि होस्टेमा हैंसे गर्नुपर्ने अवस्था छ। प्रदेश र स्थानीय तहको प्रोफाइल निमार्ण, पुरानो पर्यटन निति २०६५ प्रतिस्थापन गरी नयाँ पर्यटन निति जारी गर्नुपर्दछ । पर्यटन उद्योग संचालनमा नयाँ कार्यानिति र आचारसंहिता निमार्ण गरी कार्यन्वयन गर्नुपर्ने अवस्था छ । होटेल तथा रेष्टुरेन्टहरुको मापदण्ड र मूल्यांकन प्रणालीको विकास र विस्तार गरिनुपर्छ। स्थानीय नागरिकलाई पर्यटनको विकासबाट हुनसक्ने फाइदा, होम स्टे सञ्चालन, खाना र परिकारको तयारी सम्वन्धि तालिम, विभिन्न भाषागत तालिमजस्ता कार्यक्रममा सहभागी गराई यस क्षेत्रको विकासका साथै ग्रामिण उद्यम र आर्थिक सवलीकरणमा योगदान दिन सकिन्छ । पर्यटकिय गतिविधीमा महिलाको सहभागिता अभिवृद्धि गर्न सके महिला सशक्तिकरण र पर्यटन व्यवसायमा दिगोपनको विकास गर्न सकिन्छ ।
यस कावासोती क्षेत्रका सामुदायिक वनमा साइकल ट्रयाकको निमार्ण गरि साइक्लिङ्का स्पर्धा आयोजना गर्न सकिन्छ भने कावासोती, बालुवा डाँडा कुमसोत र त्यहाँवाट तल काली गण्डकी करिडोर सम्म पैदल यात्रा गरि काली गण्डकीबाट देवघाट, नारायणगढ हुँदै अमलटारी र त्रिवेणी सम्म डुंगा सयर र डुंगा दौड प्रतियोगिता संचालन गरी दिगो पर्यटनको विकास गर्न सकिन्छ ।
७. निष्कर्ष
कावासोती नगरपालिका नेपालको नमूना पर्यटकीय क्षेत्र बन्न सक्नेमा कुनै दुईमत छैन । स्पष्ट कार्ययोजना, आवश्यकता पहिचान, योजनाको निमार्ण, उचित कार्यन्वयन र ब्यवस्थापन तथा चुनौतिको तत्कालै सहि समाधान गर्न सकेमा पर्यटन विकासको क्षेत्रमा कावासोतीले फड्को मार्न सक्ने अवस्था देखिन्छ । कावासोतीलाई देशको राजधानी काठमाडौं, सुन्दर नगरी पोखरा र पाल्पा, पूर्वका चितवन र जनकपुर, पश्चिमका बुटवल, भैरहवा, नेपालगञ्ज र धनगढी आदिसँग जोड्न सके यो पर्यटन विकासको केन्द्रबिन्दु बन्नसक्ने कुरालाई नकार्न सकिदैन । आशा गरौं कावासोती पर्यटन विकासको नयाँ ज्योति बन्न सकोस, हार्दिक शुभकामना ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१