नेपालमा संघीयताको स्थापना पश्चात राज्यको पुर्नसंरचना बहस जोडतोडले उठयो । विकासको नयाँँ आयामको लागि स्थानीय निकायहरु एक आपसमा मर्ज गरी गाँउ विकास समितिहरुबाट नगरपालिका बनाउने अभियान सुरु भयो । यही क्रममा वि.स. २०७१ बैशाख २५ गतेका दिन साविकका ३ गाविसहरु प्रगतिनगर, देवचुली र दिव्यपुरी मिलेर देवचुली नगरपालिकाको रुपमा स्थापना भएको हो । संविधान २०७२ जारी पश्चातको राज्य पुर्नसंरचना पश्चात रजहर गाविस समेत मिलेर २०७३ फागुन २७ गते नेपाल सरकारको निर्णय अनुसार देवचुली नगरपालिकाको रुपमा स्थापना भएको हो ।
देवचुली नगरपालिकाको कुल क्षेत्रफल ११२.७२ वर्ग किमी रहेको छ । यसको चार दिशामा पूर्वमा गैडाकोट नगरपालिकाको झरही खोलाले, पश्चिममा कावासोती नगरपालिकाको लोकाहा खोलाले, दक्षिणमा पवित्र नदी नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्जको काख र उत्तरमा नवलपुरको अग्लो डाँडा देवचुलीले बिभाजन गरेको छ । यो लेखमा देवचुलीको दिगो विकासको आधारलाई मध्यनजर गरी यो क्षेत्रको पर्यटनको विकास नै दिगो विकासको आधार किन हो र कसरी गर्न सकीन्छ भनी तयार गरिएको छ ।
यस क्षेत्रमा रहेका अहिलेका पर्यटकीय स्थलहरु र सो स्थलमा पर्यटकीय क्रियाकलापको विकास गर्न सकीने कार्यहरुको बारेमा तयार गर्ने जमर्को गरिएको छ ।
वाईल्डलाईफ पर्यटन र देवचुली
देवचुलीलाई देशको नयाँ पर्यटकीय गन्तव्य गराउनको पहिलो पर्यटल भनेको नै यसको दक्षिण भेगमा रहेको मध्यवर्ती क्षेत्र, सो भित्रका सामुदायिक बनहरु, नारायणी नदि र चितवन राष्ट्रिय निकुञ्ज नै हो । हाल नेपालमा आउने धेरै पर्यटकहरुको पहिलो रोजाई भनेको नै एक सिँगै गैँडा, पाटेबाघ, चराहरु, घडीयाल गोही र अन्य जंगली जनावरहरुको दृश्यावोलकन र नजिकैबाट आफ्नै क्यामेरा र मोवाईलबाट फोटो र भिडियो नै हो । जंगली जनावरहरुसँगको साक्षात्कर र राष्ट्रिय निकुञ्जको अनुभव गर्न सजिलो र नयाँ गन्तव्यको रुपमा यस क्षेत्रलाई विकास गर्ने हो भने धेरै पर्यटकहरु यहाँ आउने र कम्तीमा पनि ३ रात ४ दिनको सजिलो प्याकेजको रुपमा गर्न सकीने संभावना रहेको छ । देवचुली नगरपालिका नेपालको मध्यभागमा रहेको स्थान, पूर्व पश्चिम राजमार्गले समग्र नगरलाई बिचबाट तल माथि पारेको क्षेत्र र गण्डकी प्रदेशको मुख्य नाका रहेको चिनको कोरोला र सुनौली एवम त्रिवेणी नाका बाट पहिलो गन्तव्य रहनु यो नगरको लागि मानिसहरुलाई यहाँ ल्याउनको लागि सजिलो ठाँउ हुन सक्दछ । यस नगरको क्षेत्रमा पर्ने मध्यवर्ती भित्र रहेको ७ सामुदायिक बनहरुमा प्रशस्त मात्रामा देखापर्ने एकसिँगै गैडा, मृग, हरिण, चरा र घडियाल गोहीको साथमा राष्ट्रिय निकुन्जलाई दायाँ बाँया पारी डुँगामा नौकाविहार गर्न पाईने अवसर देवचुलीमा पर्यटक ल्याउन सकीने र बसाई लम्बाउन सकीने मुख्य आधार हुन । पर्यटकहरु बसाईमा आवश्यक पर्ने बासको लागि यहाँ सामुदायिक होमस्टे मगर, थारु, बोटे र गुरुँग जातीहरुबाट रहेकोले एकै स्थानबाट धेरै जातजातीका भेषभुषा, रहनसहन हेर्न, सिक्न र अवलोकन गर्न सकीने छ । सस्तो देखी महँगो सम्मका होटलहरु समेत यहाँ रहनु र नयाँ निर्माण सुरु गरिनुले सामान्य देखी अली खर्चालु पर्यटकहरुको लागि राम्रो र नयाँ गन्तव्य हुन सक्दछ ।
प्राकृतिक उपचार सँगै सामुदायिक पर्यापर्यटनको आधार : रजहर प्राकृतिक सामुदायिक अस्पताल
अहिले विश्वमा धेरै प्रकारका पर्यटकीय क्रियाकलापहरु विश्वको धेरै देशहरुमा अभ्यास रहेको छ । यो मध्येको महत्वपूर्ण र नेपालमा हामीले सुरु गर्न नसकेको क्षेत्र भनेको हेल्थ पर्यटन हो । मानिसहरु अहिले आधुनिक चिकित्सा विधीबाट ठिक हुन नसकेर र भागदौड र व्यस्तताबाट हुन सक्ने विभिन्न रोगहरुको न्युनिकरणको लागि शान्त, हरियाली क्षेत्र भएको स्थान, फोहोरमैला र व्यक्तिहरुको भिड भन्दा छुटै खालका स्थानहरुमा मानिसहरुले आफ्नो दैनिक व्यवहार, खानपान, समय तालिकाहरुको व्यवस्थापन गर्न खोजेका छन् ।
यसको महत्वपूर्ण गन्तव्यको रुपमा यस नगरमा रहेको रजहर प्राकृतिक सामुदायिक अस्पताललाई प्रचार प्रसार र सोही अनुसारको प्याकेज गराएर अगाडी लैजाने हो भने विश्वका र नेपाल भित्रका पनि धेरै नै महँगा र बढी खर्च गर्न सक्नेहरुलाई देवचुलीमा राख्न सकीने छ ।
यसको लागि नगरले अस्पतालसँग समन्वय गरी देशभित्रका ७५३ स्थानीय तह, ७ प्रदेश र संघीय कार्यालयहरुमा अनुरोध पत्र सहीतको प्योकज घोषणा गर्ने हो भने यो राम्रो र धेरै दिनको प्याकेजको रुपमा लैजान सकीन्छ । यहाँ व्यक्तिले आफ्नो स्वास्थ्य उपचार पनि प्राकृतिक विधीबाट गर्न सक्ने, आवश्यकता अनुसार जंगल सफारी र अन्य पर्यटकीय क्रियाकलापहरु पनि गर्न सकीने र विभिन्न जातजातीका कला, संस्कृति र रहनसहन सिक्न र अध्ययन गर्न सक्दछन् भने व्यक्तिको मुख्य स्वास्थ्यलाभ गरेर जान सक्नेछन् ।
ट्रेकीङ्गको साथमा साहसिक खेल र हिमालयको दृश्यावकोलकन : देवचुली डाँडा र पहाडी क्षेत्र
विश्वमा अहिले पर्यटकीय क्रियाकलापलाई साहसिक खेल, ट्रेकीँग र नजिकैबाट हिमालको दृश्यहरु हेर्नको लागि र महसुस गर्ने गरी तयारी गरिएको छ । देवचुलीमा नगरको नाम रहेको देवचुली डाँडा नवलपुरको सवैभन्दा उच्च पहाडी विन्दु हो । यसको उचाई १९३६ मिटर रहेको छ । यस डाँडाबाट उत्तरतर्फ हिमालहरु र दक्षिणतर्फ तराईको समथर जमिन र नारायणी देखी नवलपुर र चितवनका विभिन्न भुभागहरु समेत देखीने गर्दछ । यो उच्च शिरसँग यस क्षेत्रको आदिवासीहरु थारु समुदाय र मगरहरुको सम्बन्धले समेत अझै महत्वपूर्ण र सुन्न लायक बनाउन सकीन्छ ।
अहिले जातिय भेदभाव र असहहिंष्णु बाताबरण बन्न खोजेको अवस्थामा नयाँ पुस्तालाई र अन्य स्वदेशी र बिदेशीलाई यो सन्देश तयार गरेर दिन सकीने हो भने राम्रो हुने थियो । यसको लागि नगरपालिकाले खासमा यसको महत्व के रहेको छ ? कसरी यसको सम्बन्ध स्थापना भयो ? भन्ने खालका खोजहरु अध्ययन गरी नेपाली, अग्रेजी र उनीहरुको भाषामा नै तयार गरी स्थानीय पाठ्यक्रम र अन्य ठाँउहरुमा आदानप्रदान गर्दा राम्रो नै हुने थियो । आजकल धेरै जसो किशोरकिशोरीहरु, युवाहरु र स्वदेशी र विदेशीहरु ट्रेकीँगमा जाने प्रचलन बढेको छ । १ रात २ दिनसम्मको क्षेत्रहरुमा मानिसहरुको रुची बढ्दै गएको छ । धेरै टाढा पनि जानु नपर्ने र सवै सेवा सुविधासम्पन्न स्थानहरुमा व्यक्तिको रुची बढेको छ ।
यो डाँडामा सिजनमा लालिगुरास फुल्ने र सधै जसो चिसो महसुस गर्दै हिमालहरु हेर्न सकीन्छ । यो क्षेत्रमा साहसिक खेलहरु साईक्लिँग र मोटरसाईक्लिँगको अवधारणा ल्याउन सक्ने हो भने पूर्व पश्चिम राजमार्गबाट नजिक रहेकोले मानिसहरुले १ रात २ दिनको प्याकेज गराएर आउन सक्ने संभावना छ । यसको लागि देवचुलीको कुमसोत, किर्तीपुर, बाह्रकोल र बेलस्वाराबाट हिड्न सकीने रुटहरुको तयारी, सो स्थानमा होमस्टेहरुको निर्माण र प्रचारप्रसार र नक्साँकन सहीत गैडाकोटको मौलाकालिका मन्दिर सम्म देवचुली डाँडाबाट पदमार्ग रुट गराउन सकीने हो भने धार्मीक पर्यटनसँग पनि जोड्न सकीनेछ ।
धार्मीक पर्यटनसँगै अन्य पर्यटकीय क्रियाकलापमा सिजी शास्वत धामः
नेपालका पछिल्ला नयाँ गन्तव्यको सुचीमा परि निकै नै छिटो प्रचारप्रसार भएको र धेरै मानिसहरुले अवलोकन गरेको स्थान सिजी शास्वत धाम पनि एक हो । यहाँ आएका अधिकाँश पर्यटकहरुले सोही स्थानको अवलोकन पश्चात अन्य गन्तव्यमा नगएका कारण त्यहाँ आएका लाखौ पर्यटकहरुबाट खास फाईदा नगरले लिन सकेको छैन । यहाँ आएका पर्यटकहरुलाई यस लेखको माथि उल्लेख गरिएका क्रियाकलापहरुमा जोड्नको लागि स्पष्ट योजना यस क्षेत्रका पर्यटनकर्मीहरु, होटल व्यवसायीहरु र नगरपालिकाले समेत गराउनु आवश्यक छ । सिजी शास्वत धामले सवै धर्मलाई समान रुपमा सम्मान गरेको कारणले गर्दा धार्मिक विश्वास भएकाहरु, फोटो र टिकटकको लागि आएका व्यक्तिहरु र यो बाटो भएर पूर्व पश्चिम यात्रा गर्नेहरु लक्षित गरी प्याकेजहरु आधा दिन, १ दिन, २ दिन र १ रातसम्मको प्याकेज निर्माण गर्न सकीन्छ । सिजि भित्र रहेको गल्फ मैदान पनि अर्को महत्वपूर्ण पर्यटकीय क्रियाकलाप हुन सक्दछ । गल्फ भन्ने वित्तिकै अलि संम्भ्रात वर्गले खेल्ने भन्ने रहेकोले यो मैदानको पनि प्रयोग गरि कम्तीमा पनि वर्षमा १ पटक राष्ट्रिय स्तर र प्रदेशस्तरको खेल सञ्चालनको लागि नगरपालिकाले पहल गर्ने र यसको लागि प्रदेश सरकार, खेलकुद परिषद, संघीय सरकार र स्वयम चौधरी ग्रामलाई समेत अनुरोध गर्न सकीन्छ । सो खेल खेल्न आएका व्यक्तिहरु कम्तीमा पनि यही बस्ने र यहाँका माथि रहेका पर्यटकीय क्रियाकलापहरुमा आबद्ध हुने रणनीति निर्माण गर्न सकीय यो संभव रहेको छ । यसको लागि नगरले नीजि क्षेत्रको पनि साथ लिने गरी कार्यक्रमहरुको तयारी गर्न सकीय प्रभावकारी र दिगो रहने छ ।
अव तत्कालै नगरपालिकाले पर्यटकीय विकासका लागि गर्न सकीने कार्यहरु
१. देवचुली भ्रमण वर्ष २०२४ को घोषणा गरी कम्तीमा पनि २०२४ को वर्षभरीमा १० हजार व्यक्तिलाई १ रात देवचुलीमा बसाउने योजना, कम्तीमा पनि ५ हजार व्यक्तिले २ दिन १ रात देवचुलीमा बस्ने र कम्तीमा पनि २ हजार व्यक्तिले १० दिन भन्दा बढी यहाँ बसेर यि क्रियाकलापहरु गर्ने कार्यक्रमको योजना निर्माण गर्नुपर्ने देखीन्छ । यो गर्दा यहाँका होमस्टेहरु, होटलहरु र अन्य क्षेत्रको विकास पनि सोही अनुसार पर्यटनमैत्री व्यवहार र क्रियाकलाप जानेको गराउन क्षमता अभिबृद्धी र अध्ययन अवलोकन गराएर तयारी अवस्थामा राख्ने
२. देवचुलीका संभावनाहरुको भिडियो, अडियो, पत्रपत्रिका, रेडियो, ठुला अनलाईन र टिभीमा प्रचारप्रसारको योजना निर्माण गर्ने र संभव भएसम्म खेलाडीहरु, कलाकारहरु, राजनीतिक दलका प्र्रमुखहरु, उद्योगपतिहरु र अन्य सम्मानीत व्यक्तिहरुलाई पर्यटन दुतको रुपमा घोषणा गरी उहाँहरुसँगको साझेदारीमा कार्यहरु गर्ने ।
३. देशका मुख्य मुख्य स्थानहरुमा, शहरहरुमा, राजमार्गहरुमा यहाँका पर्यटकीय संभावनाहरु देखीने होडिँग बोर्डहरु तयारी गर्ने, नगरको आफनो वेभसाईटमा यसको जानकारीहरुको कोलम तयार गर्ने वा छुटै तयार गरी व्यापकरुपमा प्रचार प्रसार गर्ने । विशेष खालका पर्वहरुमा महोत्सव र अन्य क्रियाकलापहरु नीजिक्षेत्रको साझेदारीमा सञ्चालन गर्ने र सो कार्यमा स्थानीयलाई बढी सहभागिता गराउन सहुलियत र स्पष्ट नीतिको निर्माण गर्ने ।
४. देशभरीका ७५३ सरकारका जनप्रतिनिधीहरु, प्रदेश, संघीय तहका जनप्रतिनिधीहरु, सरकारी कर्मचारीहरु, उद्योगपतीहरु, नीजि संघसंस्थामा काम गर्ने व्यक्तिहरु, संस्थाहरु र नगर भित्रका जनताहरुले पनि वर्षमा १ पटक यि पर्यटकीय क्रियाकलापहरु गर्ने र अनुभव आदानप्रदान गर्नको लागि उत्पेरीत गर्ने खालका कार्यक्रमहरुको तयारी गर्ने ।
५. देवचुलीको झल्को झल्कने खालका घरमा नै तयार गर्न सकीने मायाको चिनोहरु, उपहारहरु र अन्य संभावनाको खोजी गरी नगरपालिकाले देशभर नै व्यापारीक क्रियाकलापको लागि सहयोग गर्ने ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१