कावासोती । गण्डकी प्रदेशको भित्रि मधेषमा अवस्थित नवलपुर पर्यटकीय दृष्टिकोणले सम्भावना युक्त जिल्ला हो । नेपालको प्रमुख पर्यटकीय क्षेत्र चितवन र लुम्बिनीको बीचमा अवस्थित नवलपुर यहाँको प्राकृतिक तथा धार्मिक स्थलको कारण क्रमशः आन्तरिक तथा बाह्य पयर्टकको प्राथमिकतामा पर्ने गरेको छ । महाभारत पर्वत श्रंखला देखि तराईमा अवस्थित चितवन राष्ट्रिय निकुञ्ज सम्म फैलिएको नवलपुर जिल्ला उत्तर तर्फ कालिगण्डकी नदी र पूर्व–दक्षिणमा नारायणी नदीले घेरिएको छ । जिल्ला भएर बहने नारायणी र कालिगण्डकी नदी, उत्तरमा अवस्थित महाभारत पहाड श्रंखला, भित्रि मधेषको समथर भूभाग, चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, विभिन्न धार्मिक स्थल जिल्लाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा बिकास हुदै गएको छ ।
धार्मिक स्थल
जिल्लाको पूर्वी भूभागमा अवस्थित मौलाकालिका मन्दिर, पश्चिममा अवस्थित दाउन्नेदेवी, दक्षिणमा रहेको त्रिवेणी र गजेन्द्रमोक्षधाम, उत्तरमा अवस्थित अकलादेवी, घुमाउरीघाट सहित कावासोतीको महाराजस्थान, देवचुली डाडाँको कुमारवर्ती माई धार्मिक पर्यटकीय गन्तव्य बन्ने गरेको छ । देवचुली नगरपालिकामा रहेको शास्वत् धाममा हजारौं पयर्टकहरुले दैनिक रुपमा अवलोकन गर्ने गरेका छन् । मौलाकालिका मन्दिरमा निर्माण भएको मौलाकालि केवलकार सञ्चालन पस्चात अहिले मन्दिर दर्शन गर्न जाने पर्यटकहरुको संख्यामा उल्लेखनीय बृद्धि भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
विश्वको एक मात्रै हिन्दु र मुस्लिम धर्मावलम्वीहरुको साँझा धार्मिक स्थल मदरबाबा मेलामा नेपाल तथा भारतका पर्यटकहरु ठुलो उपस्थिति पाउन सक्छौं । जिल्लाको अन्य विभिन्न धार्मिक स्थलहरुको पनि क्रमशः आवश्यक पूर्वाधारहरुको बिकास हुन सक्दा थप पर्यटकीय गन्तव्यको बिकास हुन सक्नेछ ।
प्राकृतिक स्थल
महाभारत पर्वत श्रंखला, कालिगण्डकी नदी, नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज जिल्लाका प्रमुख प्राकृतिक पर्यटकीय स्थल हुन् । देवचुलीको शिर देखि नारायणी र कालिगण्डकी तिर सम्मका मनोरम दृश्यमा रमाउनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन् । देवचुली डाँडाको पैदल यात्राका लागि दैनिक रुपमा विभिन्न स्थलबाट पैदलयात्रीहरु आउने गरेका छन् । देवचुली नगरपालिका र बुलिङ्गटार गाउँपालिकामा अवस्थीत यस पहाडलाई थप बिकास गर्न सक्दा तराईं क्षेत्रबाट नजिकैको उत्कृष्ट टे«किङ स्थलको रुपमा बिकास हुनेछ । चितवन राष्ट्रिय निकुञ्ज र संगै रहेको मध्यवर्ती क्षेत्रमा यहाँ पाईने गैंडा सहित विभिन्न वन्यजन्तुको अवलोकनको लागि समेत नवलपुर चितवन जिल्लाको विकल्पको रुपमा स्थापित हुदै गएको छ । नवलपुरको विभिन्न स्थानबाट चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा समेत जिप सफारी गर्न मिल्ने व्यवस्था भएपछि यसले झनै रौनकता थपेको स्थानीय पर्यटन व्यवसायिहरु बताउछन् ।
बढ्दै छ होटल व्यवसाय
नवलपुरमा पछिल्लो समय ठुलो लगानीका होटल व्यवसायहरु खुल्ने क्रम जारी छ । विगतमा चितवन राष्ट्रिय निकुञ्जबाट बिस्थापित भएका होटलहरु अधिकाम्स अहिले नवलपुरमा सञ्चालनमा छन् । संगै यहाँका स्थानीय देखि अन्तराष्ट्रिय स्तरका होटल व्यवसायिहरु अहिले नवलपुरमा होटल स्थापनको लागि लालाहित पाउन सकिन्छ । नवलपुरमा रहेको होमस्टे देखि यहाँका तारे होटल सम्म पयर्टकहरु आफ्नो रोजाई र स्तर अनुसार बस्ने गरेका छन् । नारायणी नदी किनारमा गैंडाकोट देखि त्रिवेणी सम्म विभिन्न स्थानहरुमा ठुला ठुला होटलहरु सञ्चालनमा छन् । जसको कारण पनि पर्यटकहरुको चाप क्रमशः नवलपुरमा बढ्दै गएको पुष्टि हुन्छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१