जनमत पार्टीका अध्यक्ष सिके राउतले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन कायमै राखेको बताएका छन्। जनमत पार्टीका अध्यक्ष राउतले आफूहरू संसदमा सत्ता पक्षको कुर्सीमा बस्ने बताए।‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन। त्यसैले हामी सत्ता पक्ष नै हो,’ उनले भने,‘सरकारलाई दिएको समर्थन कहिलेसम्म जारी राख्ने भनेर पार्टीले छिट्टै निर्णय गर्छ।’अहिलेकै अवस्थामा यो सरकारमा सहभागी हुन नसकिनेसमेत उनले बताए।जनमत पार्टीका तर्फबाट मन्त्री बनेका खानेपानी तथा सरसफाइ मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए। आफूहरूले माग्दै आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको हो। उद्योग मन्त्रालय नपाए कृषि पाउनु पर्ने उसको अडान थियो। पुस ११ गते जनमत पार्टीका तर्फबाट वरिष्ठ उपाध्यक्ष खान मन्त्री बनेका थिए।
प्रतिनिधि सभामा जनमत पार्टीका तर्फबाट ६ जना सांसद छन्। सत्ता गठबन्धनमा रहेर पनि उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीले अलग्गै उम्मेदवारी दिएको थियो। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका रामसहाय प्रसाद यादवविरूद्ध जनमत पार्टीकी ममत झा उम्मेदवार बनेकी थिइन्। त्यो बेलादेखि नै जनमत पार्टीको सत्ता गठबन्धनसँग मनमुटाव सुरू भएको थियो।बारा-२ बाट निर्वाचन जितेका रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा भएको उपनिर्वाचनमा समेत सत्ता गठबन्धन र जनमत पार्टीको मुख्य प्रतिस्पर्धा भएको थियो। सत्ता गठबन्धनका तर्फबाट जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका तर्फबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बनेका थिए। सप्तरी-२ बाट जनमत पार्टीका अध्यक्ष राउतसँग पराजित भएका भएका यादव बारा क्षेत्र नं २ को उपनिर्वाचनमा विजयी भएसँगै सत्ता गठबन्धन र जनमत पार्टीको मनमुटाव थप बढेको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१