तनहुँ ।बन्दिपुरका होटल, रेष्टुरेन्ट र होमस्टेमा सालको पातबाट निर्मित टपरीको प्रयोग गरिने भएको छ । उत्पादित टपरीको बजारीकरणको लागि गाउँपालिकाले सहयोग गर्ने बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
प्रयोग पश्चात टपरीलाई कम्पोष्ट मल बनाउन प्रयोग गरिने हुँदा वातावरण सफा र स्वच्छ हुने विश्वास गरिएको उहाँले बताउनुभयो । गण्डकी प्रदेश सरकारको गरिबी निवारण उद्यमी विकास कार्यक्रममार्फत बन्दिपुर गाउँपालिका–६ को कमलबारी डाँडाछाप उद्यमी महिला विकास संस्थालाई टपरी बनाउने मेसिन हस्तान्तरण गरी तालिम प्रदान गरिएको छ ।
उक्त मेसिन रु दुई लाख १३ हजार ५०० को लागतमा खरिद गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । मेशिनबाट टपरी बनाउने तालिमको गाउँपालिकाका अध्यक्ष थापाले शुभारम्भ गर्नुभयो । सुकाएको सालको पातलाई मेसिनमा राखेपछि टपरी तयार गर्न सकिन्छ । उहाँले भन्नुभयो “सुरुमा मानिसले चार वटा पातलाई सिन्काले सिलाएर मेसिनमा राख्नुपर्छ ।” तालिममा १२ जना सहभागी छन् । उत्पादन गरिएका टपरी बन्दिपुर कोसेली घरमा राखेर पनि बिक्री वितरणको व्यवस्था मिलाइने गाउँपालिका कार्यालयले जनाएको छ ।
बन्दिपुर– २ बसपार्कस्थित टुँडिखेल चोकमा बन्दिपुर कोसेली घर निर्माण गरिएको छ । गाउँपालिकाले महिलाहरुलाई आयआर्जनतर्फ उन्मुख गराउन थालेको गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङले जानकारी दिनुभयो (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१