गोरखा । गोरखामा जिप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा पूर्व नवलपरासी जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय उत्तरकुमार सिग्देल, गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय पदम न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।
सिरानचोक गाउँपालिका– ४ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ६ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा १४च ७८१ नम्बरको स्कोपियो जिप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको सवारी चालकले प्रहरीलाई बयान दिएका छन् ।
चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जिप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१