चोरमारा । नेकपा एमालेको तर्फबाट मध्यविन्दु नगरपालिकाको मेयर पदका उम्मेदवार भिमलाल अधिकारीले घर दैलो अभियान शुरु गर्नु भएको छ । मातृशोकमा रहनु भएका अधिकारीले मतदाताको घर सम्म पुगेर आफुलाई मतदान गर्न अनुरोध गर्नु भएको हो । बैशाख ८ गते आमाको मृत्यु भएपछि क्रियामा रहनु भएका अधिकारीले धार्मिक विधि अनुसार डिकुरो फोरेपछि घर दैलो अभियान शुरुवात गर्नु भएको छ । उहाँले शनिबार मध्यविन्दु नगरपालिकाको वडा नं. ७ मा घर दैलो गर्नु भएको थियो । क्रियापुत्रि कै पहिरनमा रहनु भएका अधिकारीले घरघर पुगेर मतदातासंग आफु र एमालेका उम्मेदवारलाई विजयी बनाउन अनुरोध गरेको बताउनुभयो ।
परिवारमा भएको दुःखद घटनाको बीच पनि आम मतदाता र शुभेच्छुक संगको भेटघाटलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । उहाँ क्रियापुत्रि नै रहेको बेला बैशाख १२ गते आफ्नो मनोनयन दर्ता गराउनु भएको थियो । मध्यविन्दु नगरपालिकाको विभिन्न वडाहरुमा पुग्ने र आम मतदाताहरुको गुनासो सुन्ने आफ्नो उद्देश्य रहेको अधिकारीले बताउनुभयो । दुखःद अवस्थाको कारण यो बीचमा मतदाता संग प्रत्यक्ष भेट गर्ने अवसर नपाएपनि अब निरन्तर रुपमा सबै वडाहरुमा मतदाता सम्म पुगेर मतदानको लागि आह्वान गर्ने उहाँले बताउनुभयो ।
नेकपा एमालेले नगरपालिकाको १५ वटै वडामा वडा सम्पर्क कार्यालय स्थापना सहित घर दैलो अभियानलाई तिव्रताका साथ अगाडी बढाएको एमाले मध्यविन्दु नगर इञ्चार्ज बाबुराम पाण्डेले बताउनुभयो । घर दैलो अभियानको क्रममा आम मतदाताबाट पाएको प्रतिक्रियाले आफुहरु निकै उत्साहित भएको पाण्डेले बताउनुभयो । मध्यविन्दु नगरपालिकामा एमालेले निर्वाचन परिचालन समिति सहित विभिन्न उपसमितिहरु गठन गरेर प्रचार प्रसार शुरु गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१