गलेश्वर । कालीगण्डकीको तटमा अवस्थित प्रशिद्ध तीर्थस्थल मुस्ताङको कागबेनीमा आज दिवङ्गत आफन्तहरूको स्मरणमा पिण्डदान र तर्पण गर्ने तीर्थालुहरूको भीड लागेको छ । आज औँसी तीथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृहरूले मोक्ष पाउँछन् भन्ने विश्वास रहेकाले देशका विभिन्न ठाउँहरूबाट कागबेनीमा आइ करिब चार हजार भक्तजनले पिण्डदान गरेका कागबेनीबाट कृष्ण शर्मा सापकोटाले जानकारी दिनुभयो ।
औँसीको दिन कागबेनीमा श्रद्धा गर्न बिहीबार नै कागबेनीमा आएका भक्तजनहरूले कागबेनीका होटल र व्यक्तिगत घरहरूसमेत खचाखच भरिएका नवलपुरको गौँडाकोटबाट कागबेनी आउनुभएका मुकुन्द रेग्मीले बताउनुभयो । उहाँका अनुसार कागबेनीका होटलमा बास नपाएपछि कैयौँ तीर्थयात्रीहरू मुक्तिनाथ उक्लिएका थिए ।
कागबेनी तीर्थालुले भरिएपछि कागबेनीबाट १२ किलोमिटरको यात्रा गरेर कोही मुक्तिनाथ पुगेका थिए भने कोही जोमसोमतर्फ झरेका रेग्मीले बताउनुभयो ।
कागबेनीका होटल व्यवसायी छेप्तेन गुरुङका अनुसार कागबेनीमा यस वर्षकै सबैभन्दा बढी तीर्थालुहरू आएका छन् । “करिब चार हजारको हाराहारीमा तीर्थयात्रीहरू आएका छन्”, गुरुङले भन्नुभयो, “यहाँ विगत दुई वर्षयताकै सबैभन्दा बढी भक्तजनहरू आज आएका हुन् ।” वडादशैँ र चैते दशैँ सुरु हुने औँसीमा पिण्ड दान गर्दा दिवङ्गत भएकाले मुक्ति पाउने धार्मिक विश्वास रहेको छ ।
कोरोनाका कारण विगत दुई वर्षसम्म सुनसान बनेको मुस्ताङमा पर्यटकीय सिजन सुरु भएसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू आउन सुरु भएको छ । यहाँ विदेशी पर्यटक पनि देखिन थालेका स्थानीय व्यवसायीले बताएका छन् । (रासस)
–––
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१