नमुना पोष्टप्रकाशित मिति: २०७८ चैत्र १६, बुधबार (२ साल अघि)
Advertisement
कोलम्बो (रासस/एएफपी) । श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् । दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ । श्रीलङ्कामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत विजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ ।
जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् । पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले विजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाई छ । बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाई छ ।