पवित्रा पराजुली
चोरमारा, १३ फागुन । गण्डकी प्रदेश सरकारको सहयोगमा नवलपुरको मध्यविन्दु नगरपालिका–१३ स्थित गिरुवारी खोलामा पक्की पुल निर्माण हुने भएको छ ।
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत विनियोजित १४ करोड २६ लाख रुपैया बजेट लागतमा गिरुवारी खोलामा पक्की पुल निर्माणको लागि ठेक्का सम्झौता भएको हो । हिमढुङ्गा एण्ड ठोकर कम्पनी प्रा.लि. संग २१ महिनामा निर्माण सम्पन्न गर्नेगरी पुलको ठेक्का सम्झौता भएको हो ।
मध्यविन्दु–७ तोरीवारी र मध्यविन्दु–१३ मैनाघाट जोड्ने पक्की पुल एक सय ४५ मिटर लाम्बाई र ११ मिटर चौडाईको हुनेछ । पुल निर्माण भएपस्चात मध्यविन्दु–१३ सहित मध्यविन्दु ९, १४ र जिल्लाका पहाडी क्षेत्रका स्थानीय लाभाम्वीत हुनेछन् । चोरमारा हुदै जिल्लाको पहाडी क्षेत्र र पूर्वी पाल्पा सम्म पुग्नेगरी नियमित यातायात सञ्चालनको समेत बाटो खुल्ने मध्यविन्दु–१३ का वडा अध्यक्ष अर्जुन पंगेनीले बताउनुभयो । गिरुवारी खोला उत्तर तर्फ रहेका सबै बस्तीहरु मोहन डाँडा चपाहा, मोटेखोल्सी, छाप्रादि, भेडाबारीका सहितको क्षेत्रका स्थानीयहरुलाई मौनाघाट हुदै यात्रा गर्न सहज हुने पंगेनीले बताउनुभयो ।
हाल गिरुवारी खोलामा झलुङ्गे पुल रहेको छ । तिन वर्ष अगाडी खोलामा झलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीयलाई केही सहज भएपनि साना तथा ठुला सवारीहरु वर्षाको समयमा आवतजावत गर्न कठिनाई हुदै आएका छ ।
वर्षाको समय तिन महिना मैनाघाट क्षेत्रमा सवारी लैजान सक्ने अवस्था नहुने चोरमारा–मैनाघाटका जिप चालक स्थानीय सन्त कुमालले बताउनुभयो । वर्षाको समयमा तोरिवारी क्षेत्रमा जिप पार्किङ्ग गरेर राख्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
पुल नहुँदा वर्षाको समयमा यस क्षेत्रका स्थानीय बिरामी हुदाँ एम्बुलेन्स सेवा उपयोग गर्न समेत पाउने अवस्थामा रहदैनन् । गत वर्ष मध्यविन्दु–१३ कि केशरी खाम्चा मगरले आफनो छोरा बिरामी हुँदा बोलाएको एम्बुलेन्स खोलमै फसेको तितो अनुभव सुनाउनुभयो । अब पुल निर्माण भएपछि दैनिकीमा केही सहजता आउने उहाँको विश्वास छ ।
वर्षाको समयको खाद्यन्न सहितका आवश्यक सामाग्रीहरु ढुवानीमा समस्या भोग्नु परेको चपाहाका स्थानीय समाल ठकुरीले बताउनुभयो ।
गिरुवारी खोलामा पक्की पुल निर्माण भएपछि मौनाघाट सहित आसपासको क्षेत्रमा बिकास निर्माणले गति लिने विश्वास स्थानीयको छ । विद्यालय तथा उच्च शिक्षाको लागि वर्षाको समयमा चोरमारामा डेरा लिएर बस्नुपर्ने बाध्यता हट्ने देखि शिक्षा, स्वास्थ्य र सडकको स्तरउन्नति हुने वडा अध्यक्ष पंगेनीले बताउनुभयो ।
मध्यविन्दु–१३ मा अहिले ठुला, माझौला तथा साना कृषि फर्महरु सञ्चालनमा छन् । ति फर्महरुमा उत्पादित कृषि उत्पादनको बजारीकरण, आवश्यक सामाग्रीको ढुवानीमा पुल नहुदाँ समस्या भोग्नुपरेको नमुना एकिकृत कृषि तथा पशुपन्छि फर्म मध्यविन्दु–१३ का सञ्चालक पाण्डव खनालले बताउनुभयो । सो क्षेत्रका कुखुरा तथा पशुपालन गर्ने कृषकहरुले वर्षाको समयका लागि ठुलो परिमाणमा दाना तथा औषधी भण्डार गर्नुपर्ने बाध्यता अव हट्ने उहाँको विश्वास छ ।
पुल निर्माणको लागि अहिले छड सहित आवश्यक निर्माण सामाग्रीहरु निर्माण स्थल पुर्याउने काम भइरहेको वडा अध्यक्ष पंगेनीले बताउनुभयो । पूर्वाधार विकास कार्यालय र मन्त्रालयसंग आवश्यक समन्वय गरेर निकट भविश्यमा नै पुलको शिलन्यास गरेर निर्माण काम अगाडी बढाउने पंगेनीले बताउनुयभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१