चोरमारा । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा पहिलो चरणमा सात सय ३० जनाले कोभिड–१९ बिरुद्धको खोप लगाएका छन् । चार सय ८८ जना महिला र दुई सय ४२ जना पुरुष गरी सात सय ३० जनाले कोभिड–१९ बिरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीले जानकारी दिनुभयो ।
माघ १४ गते देखि शुरु भएको पहिलो चरणको खोप कार्यक्रममा अपेक्षित भन्दा दुई सय ९३ जना कमले खोप लगाएका हुन् । स्वास्थ्य कार्यालयको तथ्यांकमा एक हजार २३ जनाले खोप लगाउने लक्ष्य राखिएको थियो । तर नाम दर्ता गराएर पनि दुई सय ९३ जना भने खोप लगाउन आएनन् ।
जिल्लाको पहाडी गाउँपालिकाबाट खोप लगाउन आउनेको संख्यामा कमी र केही खोप बारे नकारात्मक धारणको कारण खोप लगाउन नआएको हुन सक्ने स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईंले बताउनुभयो । यसमा गर्भवती, स्तनपान गराउने महिला, गर्भवती हुने तयारीमा रहेका र कोभिड–१९ को सक्रमणबाट मुक्त भएकाहरुलाई खोप नलाउने भएको कारण पनि केही संख्यामा कमी आएको चपागाईंले बताउनुभयो । मध्यविन्दु जिल्ला अस्पतालमा खोप केन्द्र निर्धारण गरेर खोप लगाउने अभियानको शुरुवात गरिएको थियो । खोप लागउन छुट भएकाहरुलाई माघ १९ गते एक दिन थप गरेर खोप लगाउने व्यवस्था गर्ने तयारीमा कार्यालय रहेको चापागाईंले बताउनुभयो ।
जिल्लामा कोभिड–१९ बिरुद्धको एक सय १७ भायल खोप आएको थियो । जसमध्ये ७३ भायल खोप प्रयोग भएको छ । अहिले सम्म खोप खेरा नगएको चापागाईंले बताउनुभयो ।
अहिले सम्म खोप लगाएका मध्ये केहीमा बान्ता, ज्वरो आउने र ज्यान दुख्ने समस्या देखिएको भएपनि अस्पताल नै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था नरहेको चापागाईंले बताउनुभयो । उहाँका अनुसार बान्ता आउने र ज्वरो आउनेको खंख्या अहिले सम्म २१ को नाम अभिलेख गरिएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१