काठमाडौ । पार्टी्भित्रैबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन लागेपछि आफूहरूले प्रधानमन्त्रीको समर्थनमा बालुवाटारमा हस्ताक्षर गरेको नेकपाका एक सांसदले बताएका छन्। नवलपरासी पूर्व (नवलपुर) २ का नेकपा सांसद तीलबहादुर महत (तिलक) क्षेत्रीले गत चुनावमा जनादेश केपी शर्मा ओलीका पक्षमा आएकाले तत्काल उनलाई हटाउन नहुने भन्दै आफूहरूले हस्ताक्षर गरेको बताए। ‘नेपाली जनताले पाँच वर्षको निम्ति म्यान्डेट दिएको हो। पार्टी त छँदै थियो तर केपी ओलीलाई प्रधानमन्त्री बनाउने भन्ने अभिमत पाँच वर्षका लागि दिएको हुनाले बाँकी कार्यकाल पनि केपी ओलीलाई हो। केपी ओलीको साथमा हामी छौं। हामी पनि जनताको प्रतिनिधि भएको कारणले जनताले अभिमत दिएर पठाएको हुनाले हामी पनि छौं भनेर हस्ताक्षर गरिएको हो,’ उनले भने, ‘पार्टीको सचिवालयको सर्वसम्मत निर्णय भनेको पाँच वर्ष केपी ओली प्रधानमन्त्री बन्ने भन्ने हो। नेपाली जनताको माग पनि त्यही छ । मतदाताका हामी प्रतिनिधिहरू पनि उहाँको पक्षमा छौं।’
उनले यसरी हस्ताक्षर गर्नेमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैका सांसद रहेको जानकारी दिए । दुबै संसदका गरेर झन्डै ९५ सांसदले हस्ताक्षर गरेको उनको दाबी छ । प्रधानमन्त्रीनिकट सांसद महेश बस्नेतले भने बालुवाटार अहिले हस्ताक्षर भइनसकेको बताए । ’भेल फुटेपछि बाँध बाँध्नुको कुनै महत्व छैन’, बस्नेतले भने, ’हामीले प्रधानमन्त्रीलाई तटबन्ध निर्माण गर्न सुझायौं। आवश्यक परे बहुमत सांसदको हस्ताक्षर संकलन गरौं भनेर सुझाव दिएका छौं।’ उनले नेकपामा प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको दाबी गरे। पार्टी्भित्र अनेक किसिमका गठबन्धन बनाएर छलफल भएकाले बहुमत प्रधानमन्त्रीले देखाइदिए त्यस्तो रोकिने बस्नेतले बताए ।
’राजनीतिक स्थिरताका लागि पनि प्रधानमन्त्रीले बहुमत देखाउनुपर्छ भन्ने धेरै सांसदको सुझाव आयो’, बस्नेतले भने, ’विभाजन रोक्न बहुमत देखाउँ।’ नेपालको संविधानमा संसदमा बहुमत प्राप्त पार्टीको संसदीय दलका नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ । प्रतिनिधि सभा सांसदले मात्र संसदीय दलमा मत हालेर नेता चुन्न पाउँछन्। प्रतिनिधि सभामा नेकपाका एक सय ७६ सांसद छन्। संसदीय दलमा बहुमत सिद्ध गर्न प्रधानमन्त्री ओलीलाई ८९ जना सांसदको समर्थन चाहिन्छ ।(समाचार सेतोपाटी डटकमबाट)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१