काठमाडाैं । नेपाली टिम्मुर अहिले विश्वबजारमा लोकप्रिय हुँदै गएको छ । विश्वका विभिन्न देशमा यो बर्सेनि निर्यात हुन्छ । टिम्मुर नेपालको पश्चिमी क्षेत्रमा बढी उत्पादन हुन्छ । यो महाभारत पर्वत शृंखलाको १२ सयदेखि २५ सय मिटरसम्मको उचाइका खुला पाखोमा पाइन्छ । सुर्खेत, अछाम, सल्यान र जाजरकोटका कृषकले टिम्मुरको खेती बढी गर्ने गर्छन् । टिम्मुर एकपटक रोपेपछि यसले धेरै वर्षसम्म फल दिइरहन्छ । मसला र औषधिका रूपमा प्रयोग हुने भएकाले स्थानीय किसान यसप्रति आकर्षित हुन थालेका हुन् ।
विशेषता
टिम्मुरको बोटमा काँडैकाँडा हुन्छन् । काँडाबीच पनि फल लागेका हुन्छन् । यसका राता फल हुन्छन् । ती चारदेखि पाँच मिलिमिटर व्यासका स–साना हुन्छन् ।
टिम्मुरको फलको स्वाद तितो, पिरो र जिब्रो पर्पराउने खालको हुन्छ । ती फलबाट बासना पनि आउँछ । यसको बिउ गोलो र सानो हुन्छ ।
परिकार र उपयोग
–नेपालमा टिम्मुरलाई विभिन्न औषधिका रूपमा प्रयोग गरिन्छ । हैँजा, ज्वरो र पेटको विकार ठीक गर्न टिम्मुर लाभदायी हुन्छ ।
–टिम्मुरको बोक्रा, फल र बिउलाई दन्तमञ्जन, साबुन, अत्तरको रूपमा प्रयोग गरिन्छ ।
–जंगली जुका खसाल्न तथा जैविक विषादी बनाउँदा टिम्मुरको प्रयोग हुँदै आएको छ ।
–नेपालमा टिम्मुर अचारको रूपमा बढी प्रयोग हुन्छ । यो छोइला र मासुमा पनि हालिन्छ ।
–गाउँघरतिर टिम्मुरको तेल मर्किएको ठाउँ, टाउको दुख्दा र पिनास हुँदा प्रयोग गर्ने गरिन्छ ।
–युरोपका धेरै देशमा शृंगारका सामग्री र सुगन्धका प्रसाधनमा टिम्मुरको उपयोग गरिन्छ । त्यस्तै, त्यहाँका कतिपय मुलुकमा औषधिको रूपमा समेत प्रयोग हुन्छ ।
– चीनमा टिम्मुर एक प्रमुख मसलाका रूपमा भएको हुन्छ । टिम्मुरविना चिनियाँ भान्सा अधुरो हुने मास्टरसेफहरूको भनाइ छ । साथै, थाइल्यान्डमा समेत यो औषधिका रूपमा प्रयोग गरिन्छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१