काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट हटाइएपछि लालबाबु पण्डित मन्त्री निवासबाट बाहिर डेरा खोज्दै छन् । मन्त्रीबाट हटेपछि एक दिन पनि सरकारी निवासमा बस्न नरुचाउने पण्डितले बिहीबार बिहानैदेखि नयाँ बानेश्वरस्थित संसद सचिवालय नजिकै डेरा खोजिरहेका छन् । ‘आफूसँग सवारी साधन नभएकाले हिँडेर संसद जाने सक्ने ठाउँतिर डेरा खोजिरहेका छौंँ’, लालबाबु पण्डितले क्यानाडानेपालसँग भने ।
बाँकी उनकै शब्दमा
बिहीबार बिहानैदेखि डेरा खोजिरहेका छौं । यसअघि तिनकुनेमा तीन कोठाको डेरा लिएर बसेको थिएँ । सानो महसुस भएकाले यसपटक चार कोठाको डेरा खोजेका हौँ । अघिल्लोपटक मन्त्रीबाट हटेपछि एक दिन पनि सरकारी निवास नबसी डेरामा सरेका थिएँ । तर, यसपटक मध्यरातमा थाहा पाएकाले बिहान उज्यालो हुने वित्तिकै संसद हिँडेर जान मिल्ने ठाउँतिर कोठा खोजिरहेको छु । पहिला तीन कोठामा भाडामा लिएर बस्दा साथी भाइ आउँदा र मिटिङ गर्दा बेडमा बस्नु परेको थियो । यस कारणले अहिले चारकोठा भाडामा लिन खोजेको हुँ।
लालबाबु पण्डित परिवार अहिले आफ्नो सामान प्याक गरेर कोठा खोजीमा हिजो राती देखि लागेका छन् । कोठा पाउना साथ सरिहाल्ने मनस्थितिमा छन् पण्डित परिवार । अघिल्लो कार्यकाल सकिए संगै पण्डित आफ्नो कोठा मै फर्केका थिए भने यसपाली पुरानो कोठा छोडिसकेका कारण अहिले कोठा खोज्नुपर्ने अवस्थामा पुगेका हुन् । लालबाबु पण्डितका परिवार देखि ईष्टमित्रहरु अहिले कोठा खोज्न धमाधम लागिपरेका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१