ज्ञानु पंगेनी
कावासोती । विभिन्न कार्यक्रम गरी आज नवलपुरमा ४० औं शिक्षा दिवस मनाइएको छ । ‘हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलिकरण’ भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस मनाइएको हो । शिक्षा दिवसको अवसर पारेर कावासोती नगरपालिकाले आज सिद्धार्थ आवासीय माविमा वृहत् कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य तिलक महतले शिक्षा क्षेत्रमा अहोरात्र खटिने शिक्षक तथा कर्मचारीको पारिश्रमिक बढाउनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । आफू शिक्षा समितिमा पनि रहेकाले पारिश्रमिको कुरा उठाइरहेको भए पनि यस वर्ष बढाउन नसके पनि अर्को वर्षमा अवश्य बढ्ने बताए । ‘बाल कक्षामा अध्यापन गर्ने शिक्षकहरुले छ हजार रुपैयाँमा पढाउनुपरेको छ’ , कर्मचारीले पनि न्यूनतम पारिश्रमिकमा काम गर्नु परेको छ । यो बाध्यता यस वर्ष अन्त्य नभए पनि अर्को वर्ष अन्त्य गर्ने कोसिस गर्नेछु’ सांसद महतले भने ।
शिक्षालाई गुणस्तरीय बनाउनका लागि शिक्षक, अभिभावक र सरोकारवालासँगै अब तीन तहकै सरकारसमेत अग्रसर हुनुपर्नेमा महतले जोड दिए । नवलपुर शैक्षिक हबका रुपमा विकास हुँदै गएकाले यहाँको शिक्षा क्षेत्रको विकासका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने महतले बताए । यसैगरी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले नवलपुरको शिक्षा क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका थिए । गण्डकी प्रदेशले समेत शिक्षा क्षेत्रको विकासलाई प्रथमिकतामा राखेकाले शिक्षा क्षेत्रमा अझै लगानी बढाउने काममा संसदमा कुरा उठाउने बताए । उनले विद्यालय जानबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म पु¥याउन सबै सरोकारवालाहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा क्षेत्रमा राजनीतिको गन्ध आउन नहुनेमा जोड दिए । शिक्षा क्षेत्रको विकास नहुँदासम्म समग्र राष्ट्रको विकास हुन नसक्ने हुँदा शिक्षासँगै सामाजिक क्षेत्रका कुनै पनि संघसंस्थामा राजनीति गर्न नहुने उनको भनाइ थियो । नेपालको शिक्षा क्षेत्र राजनीतिकै कारण माथि उठ्न नसकेको भन्दै लामिछानेले हाम्रा भन्दा राम्रा शिक्षकलाई विद्यालयमा अवसर दिन सके विद्यार्थीको भविष्य उज्जवल हुने बताए ।
कार्यक्रममा २०७५ सालको एसईई परीक्षामा जिल्लामै उत्कृष्ट हुन सफल संस्थागततर्फ समता शिक्षा निकेतन र सामुदायिक विद्यालयतर्फ शिव मावि, शान्ति निकुञ्ज माविका छात्रछालाई नगदसहित सम्मान गरिएको थियो । यस्तै कावासोती नगरपालिकास्तरीय कक्षा एकदेखि पाँचसम्मको स्तर मापन परीक्षामा उत्कृट हुने विद्यार्थीलाई पनि प्रमाणपत्र र ट्रफीले सम्मान गरिएको थियो । यसैगरी एसईई र आधारभूत तहसम्ममा उत्कृष्ट नतिजा दिन सफल शिक्षकलाई पनि सम्मान गरिएको थियो । यसैबीच शिक्षा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वक्तृत्वकला, चित्रकला र हाजिरी जवाफ प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई पनि नगद पुरस्कार वितरण गरिएको थियो । सोही कार्यक्रममा सिद्धार्थ आवासिय माविमा प्राचार्य भोजराज दाहालले आफ्ना दिवङ्गत मातापिताका नाममा कावासोती नगरपालिका भित्र रहेका सबै संस्थागत विद्यालयहरुमा माविसम्म एक लाख ५० हजार र आधारभूत तहसम्म एक लाख रुपैयाँ बराबरको अक्षयकोष खडा गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा शैक्षिक क्षेत्रका विभिन्न संगसंगठनका प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीले सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए । कार्यक्रम कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य तिलक महतको प्रमुख आतिथ्यतामा भएको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१