काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सर्लाही जिल्ला इन्चार्ज तथा जनकपुर ब्युरो सदस्य कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको भन्दै नेपाल बन्द सहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ ।
इन्चार्ज कुमार पौडेलको प्रहरीको गोलीबाट बिहीबार ज्यान गएपछि पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले शुक्रबार एक विज्ञप्ति निकाल्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्। विप्लवले केपी ओली सरकारले फासिवादी शैलीले देशभर हत्या अभियान चलाएको भन्दै त्यसविरुद्ध आन्दोलनका कार्यक्रम विप्लवले सार्वजनिक गरेका हुन्।
वार्ताको प्रचार गर्दै राजनीतिक कार्यकर्ताको हत्या गर्ने ओली सरकारको षड्यन्त्रविरुद्ध दृढ भएर लाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन्। ‘पार्टी कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि पार्टी निर्देशन गर्दछ’, उनले भनेका छन्, सरकारद्वारा हत्या गरिएका कमरेड कुमार पौडेललाई सहिद घोषणा गर्दछ।
क्रान्तिको प्रक्रियामा यसको बदला लिने प्रतिबद्धता पनि पार्टी व्यक्त गर्दछ ।‘विप्लव नेतृत्वको नेकपाले आन्दोलनका क्रममा असार ७ गते प्रचार प्रसार, असार ८ गते कोणसभा तथा घरदैलो, असार ९ गते मसाल जुलुस र असार १० गते नेपाल बन्दको कार्यक्रम सार्वजनिक गरेको छ। चन्दले आफ्ना नेता कार्यकर्तालाई सक्रिय रक्षामा रहन पनि निर्देशन दिएका छन्। निशस्त्र अवस्थामा रहेका आफ्ना जिल्ला इन्चार्ज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको जनाउँदै विप्लवले प्रहरीले भिडन्त भनेर गरेको प्रचारको पनि खण्डन गरेका छन्।
असार ५ गते राजनीतिक कार्यक्रम सकेर फर्कंदै गर्दा सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा हाम्रो पार्टीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेललाई सरकारले नियन्त्रणमा लिएर बर्बरतापूर्वक हत्या गरेको छ उनले भनेका छन् – गैरन्यायिक हत्या र अपराधमाथि पर्दा हाल्न कथित भिडन्तको कथा सरकारले सार्वजनिक गरेको छ। यो घटनाको निष्पक्ष छानबिनका लागि मानवअधिकारकर्मी र नागरिक समाजसँग अपिल गर्दछौँ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१