ज्ञानु पंगेनी
कावासोती ।नवलपुरमा संचालनमा आएका होम स्टेले यहाको पर्यापर्यटन र आर्थिक विकासमा त टेवा पुगेकै छ । साथसाथै कला संस्कृतिको संरक्षण र सम्बद्र्धन समेत भएको छ ।
होम स्टेमा प्रस्तुत हुने थारु , बोटे , माझी मुसहर समुदायको परम्परागत कला संस्कृति यहा आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बिन्दु समेत बनेको छ । भने लोप हुने अवस्थामा पुगेको कला संस्कृतिको संरक्षणमा टेवा पुगेको छ । नवलपुरको कावासोती नगरपालिका १५ मा रहेको अमलटारी होम स्टे र देवचुली नगरपालिकामा रहेको पिप्रहर होम स्टेमा आबद्ध रहेका युवा युवतीहरु मिलेर आफ्नो कला संस्कृति संरक्षण संगै आय आर्जन समेत गर्दै आएका छन । कावासोतीको होम स्टे विगत छ वर्षबाट संचालनमा रहेको छ भने देवचुलीको विगत तीन वर्षबाट संचालनमा छ । थारु , बोटे माझी मुसहर समुदायले होम स्टे संचालन गरेका छन ।
होम स्टेमा आबद्ध रहेका युवा युवतीको समुहले सांस्कृतिक समूह ( कल्चर ग्रुप) स्थापना गरेर होम स्टेमा आउने पाहुनाहरुका लागि आफ्नो परम्परागत नृत्य ( लाठि नाच ) प्रस्तुत गर्ने गर्छन । जसमा पर्यटक रमाउछन । पिप्रहर होम स्टेमा सास्कृतिक कार्यक्रम प्रस्तुत गर्ने पिप्रहर थारु स्टिक डान्स ग्रुप छ । जसमा २० जनाको समुह छ । १० जना महिला अनि १० जना पुरुष छन । होम स्टेमा समुहमा आउने पाहुनाहरुका लागि रातिको खाना खाई सकेपपछि लाठि नाच ( स्टिक डान्स ) प्रस्तुत गरिन्छ । दुई देखि तीन घण्टासम्म सांस्कृतिक कार्यक्रम हुन्छ । झर्रा नाच , मेडरी नाच , ठेकरी नाच , घैला नाच , होर्भेस्टिङ्ग , झाम्टा नाच , डाफु , झुम्रा नाच , प्रस्तुत गरिन्छ । बाजाको तालमा लाठि नचाएर नाचिने भएकाले यसलाई लाठि नाच भनिएको सास्कृतिक कार्यक्रम संयोजक चिरञ्जिवी चौधरीले बताए । पछिल्लो समय लाठि नाच ( स्टिक डान्स ) भनेर प्रचलित बनेको छ । चौधरीका अनुसार पहिले पुरुषले मात्र गाउने नाच्ने लाठि नाच अहिले महिला र पुरुष दुवै मिलेर नाच्न थालिएको छ ।
लाठि नाच पनि बिभिन्न प्रकारक छन । झर्रा, ठेकरा,मेडरी जस्ता नाचमा लाठि नचाउने गरिन्छ । झर्रा नाचमा ठुला लाठिको प्रयोग हुन्छ र बल पूर्वक जुधाउने गरिन्छ । ठेकरामा सानो बासको लाठि जुधाएर नचाउने गरिन्छ । लाठिको केही भाग साना साना चिरा पारिएको हुन्छ र यसलाई जुधाउदा आवाज निस्कने गर्दछ । मादल वा ढोलकको तालमा लाठिलाई जुधाउने गरिन्छ ।
लाठिकै प्रयोग हुने थारु समुदायको अर्को नाच हो मेडरी नाच । मेडरीको अर्थ गोल घेरा हो । चौधरीका अनुसार मेडरीमा गोलो घेरा लगाई ठूला–ठूला ढोलक बजाउने गरिन्छ । ढोलकको तालमा लाठि घुमाउने गरिन्छ । यस नाचमा लाठि नजुधाई एक्लैले घुमाउने गरिन्छ । थारु समुदायको मुख्य पहिचान नै लाठि भएकाले लाठि नाच लोकप्रिय बन्दै गएको चौधरी बताउछन । होम स्टे स्थापना कै कारण लोप हुने अवस्थामा रहेको कला संस्कृतिको संरक्षण भएको चौधरीले बताए । ‘ अहिलेको युवा पुस्तालाई पुराना संस्कृतिप्रति त्यति चासो थिएन । आधुनिकतामा मै रमाउन मन पराउथे तर होम स्टे स्थापनाले परम्परागत कला संस्कृतिको जगेर्ना गर्नुपर्छ भन्ने भावना जागेको छ ।’ चौधरीले भने । उनले थपे – ‘आफ्नो समुदायको कला संस्कृतिप्रति स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण देखेर युवा पुस्तामा हौसला मिल्यो त्यसमाथी आयश्रोत समेत हुने भएपछि युवायुवतीहरु उत्साहित समेत बने । जसले गर्दा संस्कृतिकोे संरक्षण संगै आम्दानी समेत भएको छ । ’
नृत्यबाट प्रभावित भएर पाहुनाहरुले आफ्नो गक्ष अनुसार रकम समेत प्रदान गर्छन । भने जिल्ला भित्र र बाहिरका होटेल तथा रिसोर्टहरुमा समेत नृत्यका लागि बोलाउने गरेको चौधरीले बताए । यस्तै विभिन्न मेला महोत्सव , कार्यक्रममा समेत सास्कृतिक कार्यक्रम प्रस्तुत गरेर आम्दानी हुदै आएको चौधरीले बताए । यता कावासोती १५ मा रहेको अमलटारी होम स्टेमा पनि कल्चर डान्स ग्रुप छ । ग्रुपमा २०÷२२ जना युवायुवतीहरु नै आबद्ध छन । उनीहरुले पनि पाहुनाहरुका लागि सास्कृतिक कार्यक्रम प्रस्तुत गर्छन । होम स्टेका अध्यक्ष तथा कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनियाले सास्कृतिक कार्यक्रमको संयोजकको भुमिका निर्वाह गर्दै आएका छन । यहा पनि थारु समुदायको प्रचलित लाठि नाच , माझी मुसहर समुदायको झुमरा नाच प्रस्तुत हुन्छ । यस समुदायले जितीया , माघी , फागु पर्वमा नाच्ने गाउने परम्परागत नृत्यहरु प्रस्तुत गरिन्छ । पाहुनाहरुलाई मर्दनिया आफैले कला संस्कृति र नृत्यका बारेमा जानकारी समेत दिन्छन । मनोरञ्जन मात्रै नभई प्रतेक नृत्य र गीतमा कुनै न कुनै सन्देश हुने गरेको मर्दनियाले बताए ।
अमलटारी होम स्टेमा लाठि नाच प्रस्तुत गर्दै आएका कलाकार छन्नुराम महतो भन्छन ‘ होम स्टेमा आउने हरेकले लाठि नाच हेर्न रुचाउछन । लठिनाच अवलोकनकै लागि होम स्टेमा पर्यटक आउछन ।’ लाठि नाच ( स्टिक डान्स) ले आम्दानी संगै समुदायको सांस्कृतिक पहिचान स्थापित गराउन समेत सफल भएको उनको भनाई छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१