विजय चालिसे
कावासोती ।नवलपुरको कावासोती नगरपालिका वडा नम्बर ७ रामनगरमा लामिचौर सामुदायिक होमस्टे सञ्चालनमा आउने भएको छ । सुखी नेपाली समृद्ध नेपालको नारालाई व्यवहारमा कार्यान्वन गर्न समुदायस्तरबाटै अभियानहरु थालनी हुन थालेको हो । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र नदी किनार आसपासका नागरिकहरुले पर्यटन, व्यवसायिक खेती तथा उन्नत पशुपालन गर्ने एकीकृत योजना कार्यान्वन गर्न ‘लामिचौर सामुदायिक होमस्टे’ सञ्चालनमा ल्याउन लागेको संस्थाका अध्यक्ष जीवन सापकोटाले जानकारी दिए ।
होमस्टेको गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले विधिवत रुपमा होमस्टे भवनको शिलान्यास गरे । शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य गाहाले यो होमस्टे उचित स्थानमा सही योजनाका साथ सञ्चालनमा आउन लागेकोले खुसी व्यक्त गर्दै सबै खालका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी अर्का प्रदेशसभा सदस्य विष्णु लामिछानेले जैविक विविधता तथा पछि पारिएका समुदायको उत्थानका लागि राज्यले विशेष ब्यवस्था ल्याउनुपर्ने भन्दै यो होमस्टेले सबल नेतृत्व र सही योजना अघि सारेकोमा खुसी व्यक्त गरे ।
त्यसैगरी संस्थाका अध्यक्ष सापकोटाले सामुदायिक होमस्टेलाई मनोरञ्जन र पर्यटकीय केन्द्रको रुपमा मात्र उपयोग नगरी समुदायभित्र खास सम्भावना हुने र त्यस सम्भावनाको सही निकास दिन सक्दा मात्रै दिगो र स्थायी विकासको आधार तयार हुने बताए । उनले आधुनिकता र परम्परागत सम्पदाको सही र सन्तुलित फ्युजन गर्दै होम स्टे, अत्याधुनिक थिएटर, गोठ रहित तथा गोठसहितका क्षेत्र तयार गर्दै कृषि, पशुपालन, लघु उद्यम जस्ता कार्यक्रमलाई एकीकृत रुपमा अघि बढाउने योजना रहेको स्पष्ट पारे । तत्काल २५ वटा होमस्टे बनाइ आगामी वैशाख भित्रै सञ्चालनमा ल्याइने अध्यक्ष सापकोटाले बताए ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष नन्दलाल गुरौ, पर्यटन क्षेत्रका व्यक्तित्वहरु, स्थानीबासीलगायतको सहभागिता रहेको थियो । थारु समुदायको बाहुल्य रहेको सो क्षेत्रमा माझी, बोटे, बाहुन, क्षेत्रीलगायतका जातजातिको पनि बसोबास रहेको छ
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१